संस्थागत सुत्केरी गाउँपालिका घोषणा
कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेल्डाडी गाउँपालिकालाई कञ्चनपुरकै पहिलो संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ ।
बेल्डाडी स्वास्थ्य केन्द्र र रौतेलीविचवा स्वास्थ्य चौकीको पहलमा आइतवार बेल्डाडीलाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरियो ।
सो अवसरमा बेल्डाडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा, उपाध्यक्ष कमला कार्की, महिला शाखाका प्रमुख कमला जोशी लगायतले संस्थागत सुत्केरी गाउँपालिका घोषणालाई सफल बनाउन सबै पक्षसँग सहयोगको आग्रह गरे ।
बेल्डाडी स्वास्थ्य शाखा सहसंयोजक महेश खत्रीले गाउँपालिकामा ९० प्रतिशत संस्थागत प्रसूति हुने गरेको, ९० प्रतिशत बढी गर्भवती जाँच र ९० प्रतिशत बढी सुत्केरी एवं नवजात शिशु जाँच भएकाले पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको बताए ।
कार्यक्रममा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणामा योगदान गरेका स्वास्थ्यकर्मी उषा बम, ईश्वरी धामी, रूपा खत्री, निलम भट्ट, महिला स्वास्थ्य स्वयंसेवीका सरस्वती शाही र रामकुमारी रानालाई सम्मान गरियो ।