२६ भाद्र २०८१, बुधबार

बालिकाको शव भेटियो



बझाङ । शुक्रबार विद्यालयबाट घर फर्कने क्रममा बाउली खोलामा रहेको काठे पुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटिएको छ ।
सुर्मा गाउँपालिका–२ कि ८ वर्षीया रिनु बोहरा र १४ वर्षीया विमला बोहराको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आधाबगर माविमा पढ्दै रिनु र बिमला शुक्रबार विद्यालय छुट्टी भएर घर फर्कँदै गर्दा बाउलीखोलाको डोगडीमा रहेको काठेपुल भत्केर बेपत्ता भएका थिए । रिनुको शव शुक्रबार राति र विमलाको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ । दुवैको शव भत्केको पुलभन्दा चार किलोमिटर तल भेटिएको थियो ।
दुवैको शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । गएको वर्ष पनि सेलखेतमा बाउली खोलामा बगेर एक जनाको ज्यान गएको थियो ।
सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराका अनुसार पछिल्ला केही वर्षमा २९ जना भन्दा बढीको ज्यान यस खोलामा बगेर मृत्यु भएको छ । ठाउँठाउँमा पक्की पुल नभएकाले स्थानीय नागरिकले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था भए पनि यसमा सरोकारवालाले ध्यान दिएको पाइदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार