१६ कार्तिक २०८१, शुक्रबार

दार्चुलाको महाकालीमा पानीको बहाव घट्दै



दार्चुला । दार्चुलाको महाकाली नदीमा बुधबार साँझदेखि पानीको बहावमा कमी आउन थालेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण महाकाली नदीमा जलस्तर बढ्दै गएको थियो ।
बाढी पूर्वानुमान शाखाका अनुसार दार्चुला महाकाली नदीमा बुधबार दिनभरी ६ दशमलव एक सय २३ मिटर जलसतह पुगेको थियो । सो नदीमा पाँच दशमलव आठ मिटरलाई सतर्कताको र छ दशमलव ५० मिटरलाई खतराको सतह मानिएको छ । साँझ छ बजेको शाखाको जलसतह मापन अनुसार महाकाली नदीको जलसतह तीन दशमलव पाँच सय ८४ मिटरमा झरेको छ ।
महाकाली नदीमा जल सतह घटेसँगै दार्चुला सदरमुकाम खलंगा लगायत महाकाली नदीको तटीय क्षेत्र धाप, दत्तु, उकु, लाली लगायतका क्षेत्रमा बाढीको जोखिम पनि घटेको छ ।
भारतको धारचुलास्थित खोतिला भिरमा गएको पहिरोका कारण महाकाली नदीको बहाव परिवर्तन भई खलंगाको बांगाबगढ क्षेत्रमा निर्माणधीन पक्की तटबन्धमा क्षति पुगेको छ ।
सो ठाउँमा पक्की तटबन्ध निर्माण कार्य पुरा हुन नसक्दा दार्चुला सदरमुकाम खलंगा बाढीको उच्च जोखिममा रहेको छ । त्यस्तै, भारतको खोतिला भिरको पहिरो लगातार खस्ने क्रम बढे सँगै सो ठाउँमा महाकाली नदी थुनिन सक्ने सम्भावना रहेकोले सूचना र सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।
भारतको धौलीगंगा जलविद्युत परियोजना र भारतको खोतीला भीरको पहिरो दार्चुलाका महाकाली नदीको तटीय क्षेत्रका बासिन्दाका लागि अभिसाप बनेको स्थानीयको भनाइ रहेको छ ।
महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाका जिल्ला इन्जिनियर नारायणकाजी श्रेष्ठले भारतको धारचुला खोतिला भीरको पहिरो विस्तारै खस्दै गरेको हुनाले त्यसले महाकाली नदी थुनिन सक्ने अवस्था नरहेको प्राविधिक अध्ययनले देखिएको छ ।
भारतको पिथौरागढ प्रशासनसँग सो पहिरो हटाउन पटकपटक भएको छलफलमा विस्फोट गराउने सहमती भएको भए पनि भारतीय पक्षले सहमती कार्यान्वयन नगरेको जिल्ला इन्जिनियर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार