२८ पुष २०८१, आईतवार

प्रदेश ७ को स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक छ : मन्त्री सोडारी



दार्चुुला । सामाजिक विकास मन्त्री दीर्घ सोडारीले प्रदेश ७ को स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक पहल भइरहेको बताएका छन् ।
सोमबार दार्चुलाको मालिकार्जुन गाउँपालिकामा सुरु भएको विशेषज्ञ सेवा सहितको दुई दिने निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सोडारीले प्रदेश ७ मा रहेका नौ वटै जिल्ला अस्पतालको स्तरोन्नती गरी स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाइने बताए ।

जनतालाई अनुभूति हुने गरी स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन प्रदेश सरकारले आवश्यक बजेट तर्जुमा गरेको मन्त्री सोडारीले बताए । उनले स्वास्थ्य केन्द्र र अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्था गरिने बताउँदै जनताको आधारभूत स्वास्थ्य सेवा दूरदराजमा सहज रुपले उपलब्ध गराइने बताए ।
उनले भने प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा चिकित्सकको दरबन्दी भएपनि सम्बन्धित ठाउँमा चिकित्सक नआइदिने परिपाटी छ, अब त्यसको अन्त्य नगरेसम्म हुँदैन् । सामाजिक मन्त्रालयले प्रदेश ७ का दूरदराजका गाउँमा विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने मन्त्री सोडारीले बताए ।
विशेषज्ञ डाक्टर पाउन गाह्रो छ, दूरदराजमा आउन मान्दैनन् स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनाले स्वास्थ्यकर्मीको मनोबल घट्ने गरेको आफूले पाएको उनले बताए । उनले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन सबैको सहयोग आवश्यक भएको बताए । उनले आगामी आर्थिक वर्षमा प्रदेश ७ का सात पहाडी जिल्लाका १६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा एम्बुलेन्स वितरण गरिने नीति प्रदेश सरकारको रहेको बताए । उनले केन्द्र र स्थानीय निकायसँग समन्वय गरी अस्पताल निर्माण गरिने बताए ।
कार्यक्रममा प्रदेश ७ का उपसभामुख निर्मला जोशीले प्रदेश ७ को समग्र विकासका लागि प्रदेश सरकार लागि पर्ने बताइन् । उनले दार्चुला जिल्ला भौगोलिक रूपमा विकट भएपनि प्रचूर संभावना भएकोले विकास निर्माणका कामलाई प्राथमिकतामा राखिने बताइन् । दार्चुलाका प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा, मानसिंह धामीले जिल्लाको समग्र विकासका लागि आफूहरू लागिपर्ने बताए । मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक अनुज भटचन, जिल्ला समन्वय समिति दार्चुलाका करवीरबहादुर धामीले मन्तव्य व्यक्त गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने सो स्वास्थ्य शिविरमा झण्डै दुई हजारले सेवा लिने अपेंक्षा आयोजकको छ ।
यसै गरी सामाजिक विकास मन्त्री दीर्घ सोडारीले दार्चुला जिल्ला अस्पतालको सोमबार नै स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा विभिन्न समस्या देखिएकोले आवश्यक जनशक्ति सहित अस्पतालको स्तरोन्नती आवश्यक देखिएको मन्त्री सोडारीले बताए । त्यसैगरी सोमबार नै दार्चुला सदरमुकाम खलंडामा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयले सामाजिक विकास मन्त्री सोडारीले स्वागत कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार