असार सकिनै लाग्यो, रोपाई सून्य
डोटी । पर्याप्त वर्षा नभएपछि डोटीमा अधिकांश स्थानमा असार सकिनै लाग्दा पनि रोपाई हुन सकेको छैन । सिंचाई सुविधा नभएका स्थानहरूमा धान रोपाईको लागि पर्याप्त वर्षा नभएका कारण कृषकहरूले रोप्नको लागि राखेको धानको बेर्ना समेत सुक्न थालेको छ । केही दिन अघि वर्षा भए पनि फेरि सुख्खा शुरु भएको छ ।
जिल्ला कृषि विकास कार्यालय डोटीका प्रमुख तपेन्द्र शाहका अनुसार जिल्लामा ३० प्रतिशत जती रोपाई भएको छ उनले भने– “रोपाई गर्न अलि बढी नै वर्षा हुनु पर्छ । केही दिनअघि पानी परेको भए पनि अहिले पुन: सुख्खा भएको छ ।”
डोटीको सेती नदीको किनार आसपासका क्षेत्र धान उत्पादनका हिसावले उर्वर भूमिका रूपमा चिनिन्छ ।
डोटीको दिपायल, शिखर नगरपालिकाको बानेडुंग्रीसेन, पचनाली, केआई सिंह गाउँपालिकाको नारीदाङ लगायतका क्षेत्रमा धान उत्पादनका लागि राम्रो मानिए पनि सिंचाई अभावमा आकाशे पानीको भर पर्नु परेका कारण रोपाई समयमै हुन नसकेको किसानहरूले बताए ।
डोटी जिल्लामा १० हजार हेक्टरमा धान खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यसको एकचौथाई धान खेती दिपायलमा मात्रै हुने गर्दछ । सिंचाई अभावमा दिपायल क्षेत्रका कृषकहरूले धानको बिउ समेत राखेका पाएका छैनन् ।
जिल्लामा ९ हजार हेक्टर हेक्टरमा सिंचाई सुविधा रहेको जिल्ला कृषि विकास कार्यालय डोटीका प्रमुख शाहले बताए ।