उत्कृष्ट प्रादेशिक सञ्चार नीति बनाउन प्रतिवद्ध छौं– मुख्यमन्त्री भट्ट
धनगढी । सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सात नम्बर प्रदेशमा सबैभन्दा उत्कृष्ट सञ्चार नीति बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
“सञ्चार माध्यम तथा सञ्चारकर्मीको विकासका लागि प्रदेश सरकारले नयाँ ढंगले काम गर्ने सोच बनाएको छ” बिहीबार धनगढीमा नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले आयोजना गरेको ‘सञ्चार नीति र कानुन’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री भट्टले भने– “हामी सबैको सल्लाह, सुझाव र सहभागितामा सञ्चार नीति बनाउने छौ ।” “कुनै पनि ऐनकानुन बनाउँदा सबै पक्षको सुझाव सल्लाह लिएर निर्माण गर्दा कार्यान्वयन गर्न सहज हुन्छ” उनले भने ।
उनले प्रदेशको समृद्धि तथा विकासका लागि प्रेस स्वतन्त्रता आवश्यक रहेको चर्चा गरे । “प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेर प्रदेशको समग्र समृद्धि सम्भव छैन” उनले स्वतन्त्रताको उपयोग गर्दा अरूको स्वतन्त्रतामाथि आघात नहोस् भन्नेतर्फ सचेत हुन आग्रह गरे ।
मुख्यमन्त्री भट्टले कतिपय सञ्चारमाध्यमका गतिविधि सन्तोषजनक नभएको बताए । उनले भने– “कतिपय सन्दर्भमा अहिले ईमान्दार मान्छेले पत्रकारदेखि त्रसित हुनुपर्ने र गलत व्यक्ति खुशी हुनुपर्ने अवस्था देखिएको छ” उनले सञ्चारकर्मीहरूले यसमा गम्भीर समीक्षा गर्न आग्रह गरे ।
कार्यक्रममा प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले स्वतन्त्र सञ्चारमैत्री नीति बनाउन आफूहरू प्रतिवद्ध रहेको बताए । उनले प्रदेशमा स्वतन्त्र तथा व्यवसायिक पत्रकारिताको विकासका लागि ठोस नीति बनाइने बताए ।
कार्यक्रमको उद्देश्यबारे चर्चा गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले सरकारी नियमनका नाममा मिडियामाथिको नियन्त्रण स्वीकार नहुने बताए । उनले भने– “मिडियामाथि सरकारको नियमन भन्दा पनि स्वनियमनको अभ्यास आवश्यक छ ।”
उनले प्रादेशिक आम सञ्चार नीतिमा प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि किसिमका प्रावधान नराख्न आग्रह गरे ।
पत्रकार महासंघका पूर्व उपसभापति चित्रांग थापाले दुर्गम जिल्लामा काम गर्ने पत्रकार तथा सञ्चार माध्यमलाई विशेष सेवासुविधा प्रदान गर्ने नीति हुनुपर्ने चर्चा गरे । उनले पछिल्ला केही वर्षयता नेपाल पत्रकार महासंघले सञ्चार क्षेत्र तथा सञ्चारकर्मीको विकास तथा हकहित भन्दा पनि चुनावमा बढि केन्द्रीत हुने गरेको बताए । उनले भने– “पछिल्ला केही वर्षयता नेपाल पत्रकार महासंघ ‘चुनावदेखि चुनावसम्म’ मा मात्रै सीमित भएको छ ।”
कार्यक्रममा प्रादेशिक सञ्चार नीतिमा समेटिनुपर्ने अन्तर्वस्तुबारे धारणा व्यक्त गर्दै महासंघका पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वाँरले कुनै पनि नामको नियन्त्रणमुखी तथा संरक्षणमुखी नीति स्वतन्त्र प्रेसको विश्वव्यापी मूल्यमान्यता विपरित हुने भएकाले प्रवद्र्धनमुखी सञ्चार नीति आवश्यक रहेको बताए ।
उनले भने– “सञ्चार माध्यम तथा सञ्चारकर्मीलाई प्रदान गरिने कुनै पनि सेवासुविधा राज्यको दयामाया नभई दायित्व हो भने सञ्चार माध्यम र सञ्चारकर्मीको अधिकार हो ।” उनले आम सञ्चार नीतिभित्रै विज्ञापन नीति पनि समेटिनुपर्ने बताए । उनले ‘स्थानीय/प्रादेशिक विज्ञापन स्थानीय तथा प्रादेशिक सञ्चार माध्यमलाई’ नीति अवलम्बन गरिनुपर्ने बताए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ ७ नम्बर प्रदेशका अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर अर्याल, नेपाल पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक कर्ण शाह, पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्याल, वानका केन्द्रीय उपमहासचिव गोविन्द रोस्यारा, पत्रकार शिवराज भट्ट, भावना जोशी लगायतले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आत्मनिर्भर, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा काम गर्ने गरी नीति बनाउनु पर्ने सुझाव दिए ।
कार्यक्रमको नेपाल पत्रकार महासंघका प्रदेश ७ का महासचिव योगेश रावलले सञ्चालन गरेका थिए । कार्यक्रममा महासंघका कैलाली जिल्ला अध्यक्ष जगत साउँदले स्वागत गरेका थिए ।