१० श्रावण २०८१, बिहीबार

बझाङ–हिल्सा हेलिकोप्टर उडान हुने



बझाङ । प्रशिद्ध धार्मिक तीर्थस्थल कैलास मानसरोवर दर्शन गर्न चाहने धार्मिक पर्यटकहरूलाई लक्षित गर्दै बझाङबाट हुम्लाको हिल्सासम्म हेलिकोप्टर उडान हुने भएको छ । बझाङको तल्कोट गाउँपालिकाको खौलाबाट हिल्सासम्मको परीक्षण उडान असार २२ गते हुने जनाइएको छ ।
कैलाश सेती टुर्स एण्ड ट्राभलले अल्टिच्युड एयरसँग मिलेर उडान सेवा दिन लागेको कम्पनीका अध्यक्ष किशोरकुमार सिंहले बताए ।
उनले हेलिकोप्टर सेवासँगै प्रदेश नम्बर ७ मा पर्यटकीय गतिविधि बढ्ने र अहिले नेपालका अन्य नाका प्रयोग गरेर कैलाश दर्शनको लागि जाने भारतीय तथा नेपाली पर्यटकहरूले सस्तो खर्चमा सेवा पाउने बताए ।
अहिले नेपालको हुम्ला, दार्चुला र केरुङ हुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरिएको छ ।
उनले बझाङसम्म सडक यातायात पुगिसकेको र भारतको राजधानी नयाँदिल्लीबाट करिब छ सय किलोमिटरको यात्रामा बझाङ पुग्न सकिने बताए । “त्यहाँबाट १८ मिनेटको हेलिकोप्टर उडानमा हिल्सा पुगिन्छ” उनले भने– “सस्तो खर्चमा कैलाश मानसरोवर यात्रा गर्न चाहने भारतीय धार्मिक पर्यटकका लागि यो निकै उपयुक्त रुट बन्ने विश्वास लिएका छौं ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार