९ माघ २०८१, बुधबार

रैथाने बाली संरक्षण गर्न सामुदायिक बैंक स्थापना



बझाङ । लोप हुन थालेका रैथाने जातको बाली संरक्षण गर्नका लागि बझाङको मष्टा गाउँपालिकामा सामुदायिक बैंकको स्थापना गरिएको छ ।
मष्टा गाउँपालिका वडा नम्बर २ का स्थानीय बासिन्दाले मष्टा साना किसान कृषि सहकारी संस्था लिमिटेड दर्ता गरी सामुदायिक बीउ बैंक संचालन गरेका हुन् ।
जिल्लाबाट लोप हुने खतरामा पुगेका सबै रैथाने जातका बालीहरू संरक्षण गर्ने मुख्य उदेश्यका साथ ७ जनाको समिति गठन गरेर सामुदायिक बीउ बैंकको स्थापना गरिएको बैंकका अध्यक्ष धीरबहादुर खड्काले बताए ।
बैंकमा लोप हुने खतरामा रहेका स्थानीय तागामारो, लमण्या, उभो देशी, सुनाखुरी,रातो धान, राम जमुना, जाउली धान, मास्र्या, कोदो, कागुनु, फाँपर, रातो झालो, चाम्ण्या काठो, मुणुल्लो, बड्डी गहुँ तथा भदौरे मकैका बीउहरू पाउन सकिने अध्यक्ष खड्काको भनाई छ ।
बैंकमा पाइने अन्य बीउहरूमा मनकामना एक, मनकामना ४, रातो भटमास, कालो भटमास, मुरी मास, रातो मास, रातो र कालो गतह, गुराँस आदि रहेका छन् ।
किसानहरूसँग भएको बीउ खोजेर भण्डारण सहित किसानहरूलाई सहुलियत मूल्यमा बिक्री गर्ने गरेको उनको भनाई छ ।
लामो समयसम्म एकै जातको बाली लगाउँदै आएका यहाँका किसानहरू अहिले आफ्नो खेतबारीमा बाली परिवर्तन गर्न समेत थालेका छन् । खेतबारीमा बारम्बार एकै जातको बाली लगाउदा अन्न उब्जनिमा ह्रास आउने कुरा जानकारी पाएपछि बाली परिवर्तन गर्न थालेको किसान महेन्द्रबहादुर सिंहले बताए ।
स्थानीयहरूका अनुसार ५ सय परिवार बसोबास गर्ने सबैले अहिले लोप हुन थालेका रैथाने जातका बालीहरू लगाउने गरेका छन् ।
गाउँमा एक दुई जनाले मात्रै लगाउने गरेको लोप हुने खतरामा पुगेका रैथाने जातका बीउहरू पाएपछि अहिले अधिकाँशले आफनो खेतबारीमा कोदो, फापर, कागुनो लगायतका अन्न लगाउने गरेको सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार