धान दिवस, जग्गा भने बाझैं



डोटी । देशभर असार १५ धान रोपेर धान दिवस मनाइरहेका बेला डोटीको दिपायलका जग्गा भने बाँझै छन् ।
पर्याप्त पानी नपर्दा यहाँका किसानले धानको बीउसमेत राख्न सकेका छैनन् । पानी नपर्दा कतिपय किसानले त दिपायलस्थित पिपल्लालगायतका क्षेत्रमा गहुा काटिसकेपछि खेत समेत जोताएका छैनन् ।

फाइल तस्बिर

डोटीको दिपायलको पानी नपर्दा तथा सिंचाइ सुविधा नहुँदा आफूहरुले धानको बीउसमेत राख्न नसकेको दिपायल पिपल्ला, गैराका किसान टिका कामीले बताईन । उनले भनिन ‘सबैले असार १५ धान दिवस भन्दै रोपाइा गर्न थालेका छन, सिंचाइ सुविधा नहुँदा आफूहरुले बीउ समेत राख्न पाएका छैनौँ । के धान दिवस मनाउनु ?’
केही वर्ष अघिसम्म सिंचाइ सुविधा भए पनि गएको २०७१ सालमा आएको बाढीपहिरोले सलेनीगाढको कुलो बगाएपछि अहिले यहाँका किसान धानको बीउ राख्नेदेखि लिएर रोपाइ गर्नसमेत आकाशे पानीको भर पर्न थालेका छन् । निर्वाचनको समयमा विभिन्न नेताहरुले सिंचाइ सुविधा दिने वचन दिए पनि यहाँका किसानको मर्का अहिलेसम्म कसैले पनि नबुझेको स्थानीयबासीको आरोप छ ।
यहाँका किसानहरु रोपाइ गर्नका लागि आकाशको भरमा निर्भर भएका छन् । ‘जहिले पानी पर्छ अनि बीउ राख्छौँ र धान रोप्छौँ, स्थानीय किसान रामबहादुर बिकले भने, ‘हाम्रो पीडा कसैले हेरेनन, भगवानले हेरे खान पाउछौँ नत्र बाँझै हुन्छ जमिन ।’ डोटीमा कुल १० हजार हेक्टरमा धान रोपिन्छ भने भने त्यसको दुई चौथाई मात्रै दिपायल क्षेत्रमा धान रोपिने गरेको जिल्ला कृषि विकास कार्यालय डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्