१० श्रावण २०८१, बिहीबार

सेतीको काठेपुल बग्यो



बझाङ । बझाङको सेती नदीमा बनाइएको काठेपुल बगेको छ । चार महिना अघि निर्माण भएको सो पुललाई नदीले बगाएको बताइएको छ ।
मष्टा गाउँपालिकाले २५ लाख रुपैयाँ खर्च गरेर सम्देउ र कपडे दुईवटा काठेपुल निर्माण गरेको थियो ।
त्यस्तै, तल्कोट गाउँपालिकाले सेती नदीको रूपातोला भन्ने ठाउँमा र थलारा गाउँपालिकाकाले झनाना भन्ने ठाउँमा बनाएका काठे पुल पनि वैशाख मै नदीले बगाइसकेको छ । यी सबै पुल निर्माणको लागि स्थानीय तहले ५२ लाख रुपैयाँभन्दा बढि खर्च भएको थियो ।

फाइल तस्बिर

गाउँपालिका भित्रका प्राय: सबै गाउँहरूमा सडक सञ्जाल पुगिसकेको, तर पक्की पुल नबनेका कारण गाडी नचलेकोले आफूहरू अस्थायी पुलमा विकास बजेट खर्च गर्न बाध्य भएको मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले बताए ।
सेती नदीको पानकोट, तमैल र झनानामा तीनवटा पक्कीपुल निर्माणको काम तीन वर्षअघि नै सुरु भए पनि निर्माण कम्पनीको सुस्तताका कारण कुनै पनि पुरा भएका छैनन् ।
जिल्ला समन्वय समितिको खर्चमा पानकोटमा निमार्णाधीन पुलको ठेक्का अवधी गएको असारमा सकिएको थियो ।
सेती नदीकै तमैलमा निर्माणाधिन पुल तीन वर्षभित्र पुरा गर्ने शर्तमा केएच कन्स्ट्रक्सनले ठेक्का प्राप्त गरेको थियो । ठेक्काको अवधी आगामी पुस मसान्तमा सकिदैछ । ११ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने यस पुलको निर्माण कार्य हालसम्म पनि सुरु भएको छैन ।
त्यस्तै, तल्कोट गाउँपालिकाको देवसैन भन्ने स्थानमा सेती नदीमा निर्माण हुनुपर्ने मोटरपुलको ठेक्का २०६८ सालमा स्वीकृत भएको थियो । याक्थुहाङ निमार्ण सेवा प्रालिले निर्माणको जिम्मा लिएको सो पुलको कुनै पनि काम हालसम्म सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार