गोली हानी मारिएको रतुवा र हतियारसहित एक जना पक्राउ



डडेल्धुरा । डडेल्धुरामा अवैध भरुवा बन्दुक र गोली हानी मारिएको रतुवासहित पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेका छ। बिहीबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो।
बुधवार डडेल्धुराको अजयमेरु गाउँपालिका ३ मगराउँ बस्ने ५२ वर्षीय राजबहादुर चन्दलाई लाइसेन्स बिनाका अवैध भरुवा बन्दुक र मारेको रतुवासहित प्रहरीले पक्राउ गरेको थियो।
चन्दले रानीवन गुनपालमा रतुवा मारी बोकेर घरतिर लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी गराए। पक्राउ परेका चन्दका साथबाट रतुवा, १ थान बन्दुक, १ थान खुकुरी, ६ वटा गोली र ११० ग्राम बारुद बरामद गरिएको छ।
मृत रतुवा जिल्ला वन कार्यालयमा बुझाइने र चन्दलाई हातहतियार खरखजाना अन्तर्गत कानुन बमोजिम अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्