समृद्धिका लागि चार आधार– मुख्यमन्त्री
डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई समृद्ध प्रदेश बनाउनका लागि प्रदेश सरकारले चारवटा कुरालाई अगाडि बढाएको बताए ।
‘कृषि, पर्यटन, जलस्रोत र जडीवुटी सरकारका चार प्राथमिकताका क्षेत्र हुन’ आइतबार डोटीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले भने ‘यिनै क्षेत्रको विकासको विकासबाट प्रदेश समृद्धि सम्भव छ ।’ मुख्यमन्त्री भट्टले कृषिलाई आधुनिकीकरण गर्ने, किसानलाई सहुलियत दिने, प्रत्येक जिल्लामा माटो परीक्षण गर्ने सरकारको मुख्य लक्ष रहेको वताए ।
‘प्रदेशभित्र जलविद्युत उत्पादन सरकारको दोस्रो प्राथमिकतामा रहेको छ’ उनले भने ‘प्रदेशभित्र रहेका पानीका श्रोतहरूलाई खानेपानी, सिंचाई र ऊर्जाका लागि भरपुर रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा सरकारको ध्यान केन्द्रित भएको छ ।’ यस्तै पर्यटकीय क्षेत्रको प्रवद्र्धन, विकास र प्रचार तेस्रो र जडीबुटी संकलन र प्रसोधन चौथो प्राथमिकतामा रहेको उनले बताए ।
मुख्यमन्त्री भट्टले प्रदेशको संरचना नयाँ भएका कारण यसलाई विकासको क्षेत्रमा गति लिन सबैले सरकारलाई सहयोग गर्नु पर्ने वताए । उनले भने ‘म चमत्कार गर्छु भन्न त सक्दैन तर म सुरुवात गर्छु भनेर जिम्मेवारी लिएको हुँ र राम्रो कामको सुरुवात गर्छु ।’
उनले अहिले देशमा प्रशासनिक संक्रमणकाल सुरु भएको बताएका छन् । उनले देशमा राजनीतिक संक्रमणकाल अन्त्य भएको तर प्रशासनिक संक्रमणकाल सुरु भएको बताए । उनले केही कर्मचारीहरूलाई संघीयता नपचेकाले उनीहरू जनप्रतिनिधिहरूलाई समेत अप्ठेरोमा पार्न खोजिरहेको बताए । ‘अधिकांश कर्मचारी साथीहरूले सहयोग गर्नु भएको छ, उहाँहरूलाई धन्यवाद पनि दिन चाहान्छु’ मुख्यमन्त्री भट्टले भने ‘केही यस्ता कर्मचारीहरू छन् जसले आफूलाई जनप्रतिनिधिहरू भन्दा माथी ठान्दैछन् र संघीयता असफल होस् भन्ने चाहान्छन् ।’