जल उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी
कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडीका जल उपभोक्ताहरूले आइतबार महाकाली सिंचाईं जल उपभोक्ता संघ, क्षेत्रीय समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।
जल उपभोक्ताहरूले महाकाली सिंचाईंबाट सहज र सुलभ ढंगले किसानलाई सिंचाईं सुविधा पुर्याउने माग गर्दै कार्यालयमा तालाबन्दी गरेको बताएका छन् ।
महाकाली सिंचाईं जल उपभोक्ता संघ, द्वितीय चरण अन्तर्गत बेल्डाडीमा महाकाली सिंचाईं प्रणाली आएदेखि सञ्चालनमा आएको टर्सरी एकाएक बन्द भएकाले पुन:सञ्चालनको माग गर्दै जल उपभोक्ता (किसानहरू) पटकपटक ध्यानाकर्षण गरेको जनाइएकोछ ।
स्थानीय दिनेश सुनारले किसानले महाकाली सिंचाईं आयोजना, जल उपभोक्ता संघमा यसबारे पटकपटक माग गर्दा कुनै सुनुनवाई नभएकाले तालाबन्दी गर्नुपरेको बताए ।
किसानहरूले आफूले प्रत्येक वर्ष पानी कर तिरे पनि सिचाईंको सुविधा पाउन नसेकको गुनासो गरे । स्थानीय किसान तुलसी उपाध्यायले बेल्डाडीमा महाकाली सिंचाईं प्रणाली लागू भएदेखि सञ्चालनमा आएको टर्सरी अहिले एकाएक बन्द गरिएको आरोप लगाए ।
महाकाली सिंचार्इं जल उपभोक्ता संघ, द्वितीय चरण, क्षेत्रीय समिति अध्यक्ष वीरबहादुर बडुवालले समस्याको तत्काल अध्ययन गरेर समाधान गरिने बताए ।