२६ भाद्र २०८१, बुधबार

सात नम्बरका हिमाल र उच्च पहाडमा स्वास्थ्य शिविर चलाउछौं : मन्त्री सोडारी



बैतडी । प्रदेश सातका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले आफ्नो मन्त्रालयले नागरिकलाई स्वस्थ बनाउने अभियान चलाउने वताएका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिकामा शुक्रबारदेखि आयोजित दुई दिने स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री सोडारीले स्वस्थ बनाउने अभियान अन्र्तगत नै सात नम्बर प्रदेशका हिमाली र उच्च पहाडी जिल्लाका नागरिकको घरदैलोमै गएर निशुल्करुपमा स्वास्थ्य परीक्षण गरिने बताए ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य लिलाधर भट्टले घर आँगनमै आएको स्वास्थ्य र नागरिकता शिविरबाट भरपुर फाइदा लिन सर्वसाधारणलाई आग्रह गरेका थिए । साामजिक विकास मन्त्रालय, दोगडाकेदार गाउँपालिका र सामाजिक विकास तथा सचेतना समाज (स्वदेस) बैतडीले आयोजना गरेको शिविरमा ७२ बर्षिया दुर्गा साउदले स्वास्थ्य परीक्षणपछि गाउँमै पहिलोपटक नागरिकता पाएकी छन ।
दोगाडाकेदार गाउँपालिका १ की बृद्धा दुर्गा साउदले गाउँमै आएको शिविरमा स्वास्थ्य परीक्षण गराएपछि प्रदेश ७ का सामाजिक विकास मन्त्री दीर्घ सोराडी,प्रदेश सभासद लीलाधर भट्ट उपस्थितिमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी हुन । उनको नागरिकतामा बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले हस्ताक्षर गरेका छन ।
स्वास्थ्य चेकजाँच गरेर नागरिकता समेत पाएपछि ७२ बर्षिया साउद निक्कै खुसी भइन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नागरिकता पाएपछि अब बृद्ध भत्तासमेत पाउने आफूलाई सजिलो हुने उनले बताइन ।
शिविर संचालन गर्न बैतडी क्षेत्र नं. २ का प्रदेश सभासद् लीलाधर भट्टले विशेष पहल गरेपछि र सामाजिक बिकासमन्त्रीले सोही मन्त्रालयबाट आफुहरु बैतडीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न सहयोग गरेपछि आफूहरु बैतडी आएको नेपालगञ्ज मेडिकल कलेजका संयोजक अब्दुल हुसेनले बताए ।
शिविरमा निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान , घाँटी, दन्त सेवा, पाठेघर सम्बन्धि सेवा, समान्य चेकजाँच र परिवार नियोजन सम्बन्धि सेवा लिएर बैतडीको दोगडाकेदार गाउँपालिका आईपुगेको हुसेनले बताए ।
दोगाडाकेदार गाउँपालिकापछि मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा नौदिनसम्म चल्ने हुसेनले बताए । स्वास्थ्य परीक्षणमा पाठेघर सम्बन्धि समस्या भएका महिलाहरुका लागि कलेजले शल्यक्रिया गर्न नेपालगञ्जसम्मको बसभाडा, खाने बस्ने र अस्पतालको सम्पूर्ण खर्च व्यहोर्ने गरेर शिविर संचालन भएको हो । स्वास्थ्य परिक्षणका क्रममा नेपालगञ्ज गएर उपचार गर्नु पर्ने अन्य रोगका विमारीलाई लागेको खर्च आधा छुट दिने पनि नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।
स्वास्थ्य शिविरमा गाइलोक्लोजिस्ट डा. सुजिता पन्त, मेडिसियन डा. सृजन सिलवाल, नाक, कान, घाँटी विशेषज्ञ डा.सुलभ श्रेष्ठ र हन्त रोज विशेषज्ञ डा. हस्त थापा सहितका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिने भएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार