स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिम अब्बल–मन्त्री सोडारी
बैतडी । प्रदेश सातका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले बैतडी, अछाम सहितको साविकको सुदूरपश्चिमले स्वास्थ्य क्षेत्रमा अनुकरणीय काम गरेको बताएका छन् । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि अझैं संवेदनशील भएर काम गर्न स्वास्थ्य निकाय तथा स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे ।
अनुगमनका क्रममा बैतडी पुगेका मन्त्री सोडारीले बिहीबार बैतडीमा आयोजित एक कार्यक्रममा भने– “हामी प्राय: सडक, भवन लगायतका भौतिक पूर्वाधारलाई मात्रै विकास भन्छौं, तर हरेक नागरिक पूर्णरूपमा स्वस्थ हुने वातावरण नबनेसम्म भौतिक पूर्वाधार विकासको अर्थ हुँदैन ।”
उनले प्रदेश सरकारले विशेष प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्ने बताए । भने– तपाईंहरू राम्रो काम गर्नुहोस्, बजेटको कुनै समस्या हुन दिनेछैनौं ।
उनले स्वास्थ्यलाई प्राथमिकतामा राखेकोले नै प्रदेशको अल्पकालीन बजेटमा अहिलेसम्म नि:शुल्क काम गर्ने महिला स्वयंसेविकालाई तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता दिइने व्यवस्था गरिएको चर्चा गरे । मन्त्री सोडारीले आगामी बजेटमा पनि महिला स्वयंसेविकाका लागि अझ राम्रो सुविधा दिने बताए ।
उनले बालवालिकाको पोषणमा विशेष ध्यान दिन गरे । उनले स्थानीय तहले विगतको तुलनामा स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको क्षेत्रमा कम बजेट विनियोजन गर्न थालेकोमा असन्तुष्टि व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य लीलाधर भट्टले बैतडीमा स्वास्थ्य क्षेत्रमा राम्रो काम भएको चर्चा गरे । उनले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार राम्रो नभएकोले अझ राम्रो बनाउन पहल गरिदिन मन्त्रीसंग आग्रह गरे ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर जगदीश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य अधिकृत निशा जोशीले बैतडीको स्वास्थ्य अवस्था बारे प्रस्तुती गरेकी थिइन ।
सो अवसरमा स्वास्थ्यकर्मीहरूले विमारीलाई थप उपचारका लागि रिफर गर्ने अस्पताल नजिकै नहुदा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन नसकिएको चर्चा गरेका थिए । स्वास्थ्यकर्मीहरूले स्वास्थ्य बिमा प्रभावकारी बनाउन रिफर गरिएका विमारीलाई धनगढी पुग्ने यातायात खर्च लगायतको सुविधाको व्यवस्था गर्न पनि माग गरे ।