३ बैशाख २०८२, बुधबार

जिल्ला अस्पतालमा विद्युत आपूर्ति अनियमित



बझाङ । बझाङ जिल्ला अस्पतालमा केही दिनदेखि विद्युत आपूर्तिमा अनियमिता भइरहेको छ । विद्युत आपूर्ति गर्ने सुर्मादेवी विद्युत प्रालिले आपूर्ति नियमित गर्न नसक्दा सेवाग्राहीले सास्ती भोग्नु परिरहेको छ भने अस्पतालनको सेवा समेत प्रभावित भएको छ ।
विद्युत आपूर्तिको अनियमिताका कारण बिहीबार बिहान साढे छ बजेतिर रुखबाट खसेर गम्भीर घाइते जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुवेडाकी १८ वर्षीया महादेवी जोशीको दिउँसो एक बजेमात्र एक्सरे भएको थियो । घाइतेका आफन्त जनकराज जोशीका अनुसार अस्पतालका डाक्टरले विजुली नभएका कारण दिउँसो एक बजेतिर जेनेरेटर चलाएर एक्सरे हुने बताएका थिए ।
बाहिरबाट हेर्दा निकै सुविधासम्पन्न झैं लाग्ने जिल्ला अस्पतालमा सोलार जडान गरिएको छ । तर, सोलारको विद्युत बिरामी कक्ष वा उपचार कक्षका लागि नभई कर्मचारीको क्वार्टर र प्रशासन कक्षमा आपूर्ति गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर अनुप रेग्मीले सोलारको विजुलीले एक्सरे गर्न नसक्ने भएकाले दिउसो जेनेरेटर चलाएर एकैचोटी सबै बिरामीको एक्सरे गर्ने गरेको बताए ।
बझाङका प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले विद्युत आपूर्ति नियमित गर्नका लागि पत्राचार भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार