बझाङ र दार्चुलामा पाठेघरसम्बन्धी स्वास्थ्य शिविर
धनगढी । सुदूरपश्चिम नेपाल समाजले ७ नम्बर प्रदेशको बझाङ र दार्चुलामा महिलाको पाठेघर सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर गरेको छ ।
गत ६ र ७ गते दार्चुला र ९ र १० बझाङ जिल्लामा शिविर आयोजना गरेको आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
संस्थाका अनुसार दार्चुला र बझाङमा आयोजना गरिएको स्वास्थ्य शिविरमा तीन सय ६२ जना महिलाको पाठेघर चेकजाँच गरिएको थियो ।
दार्चुलामा दुई सय ४४ महिलालाई चेकजाँच गर्दा २६ महिलामा पाठेघरको समस्या देखिएको संस्थाका अध्यक्ष धनबहादुर बलायरले जानकारी दिए । उनका अनुसार २६ मध्ये पहिलो चरणका दुई, दोस्रो चरणका १८ र तेस्रो चरणका आठ जना पाठेघर सम्बन्धी समस्या रहेको थियो ।
यस्तै, बझाङमा एक सय आठ महिलाको चेकजाँच गरेकोमा तेस्रो चरणका तीन, दोस्रो चरणका एक र पहिलो चरणका दुई जना रहेको थियो ।