दिनदहाडै गोली प्रहार
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मुख्य बजारको पुरानो भन्सार रोडमा आइतबार दिनदहाडै गोली प्रहार गरी नौ लाख ५० हजार रुपैयाँ लुटिएको छ ।
आइतबार बिहान सवा दश बजेतिर धनगढीस्थित सिद्धार्थ बैंकबाट पैसा झिकेर जाँदै गरेको अवस्थामा ट्राफिक चौराह नजिक आइएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी सो रकम लुटिएको प्रहरीले जनाएको छ ।
लु ४० प ४४३८ नम्बरको कालो र खैरो रंंगको अपाची मोटरसाईकलमा आएका दुई जनाको समूहले पैसा लिएर साइकलमा जाँदै गरेको अवस्थामा गोली प्रहार गरी जबरजस्ती रकमको झोला खोसेर भागेको प्रत्यक्षदर्शीले बताए । घटनास्थल शिद्धार्थ बैंकबाट एक सय मिटर पश्चिमतर्फ चौराहा नजिक रहेको छ । लुटेराले कार्कीको दायाँ हातको पाखुरामा गोली हानी ढलाएपछि कार्की र लुटेराबीच रकमको झोला तानातान भएको प्रत्यक्षदर्शीले बताए ।
घाइते निर्मलले भने– “मुखमा मास्क लगाएका दुई जना मोटरसाईकलमा आए, एक्कासी ममाथि गोली प्रहार गरे । म घाइते भए पनि मैले मसँग भएको पैसाको ब्याग छोडिन ।” पीडित निर्मलले आफूमाथि गोली प्रहार तथा लुटपाट हुँदा पनि वरपर रहेका कसैले पनि जोगाउने प्रयास नगरेको गुनासो गरे ।
लुटेराहरूले निर्मलबाट जवरजस्ती पैसाको ब्याग खोसेर ट्राफिक चौराहतर्फ गएको जनाइएको छ ।
लुटेराहरूले रकम लिएर भागेपछि गोली लागेर घाइते भएका कार्कीलाई घटनास्थलमा रहेका स्थानीयहरूले धनगढीस्थित सेती अञ्चल अस्पतालमा लगेका थिए । गोली प्रहारबाट निर्मलको दायाँ हातको हड्डी टुक्राटुुक्रा भएको छ भने छातीमा सामान्य चोट लागेको छ । उनको धनगढीस्थित सेती अञ्चल अस्पतालमा सल्यक्रिया गरेर गोली निकालिएको छ । कार्की खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई आइतबार दिनभरी पक्राउ गर्न सकेको छैन । कैलाली प्रहरीले घटनामा संलग्न रहेको आशंकामा नौ लाख रुपैयाँ सहित दुई जनालाई गेटाबाट घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरे पनि प्रारम्भिक अनुसन्धानमा उनीहरूको घटनामा संलग्नता नदेखिएको बुझिन आएको कैलाली प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले बताए । यद्यपि उनीहरूबारे थप अनुसन्धान भइरहेको छ ।
प्रहरी प्रवक्ता वलीले गोली प्रहार तथा लुटपाट घटनाको एक घण्टापछि नै पक्राउ परेकाहरूबाट रकम बरामद भए पनि हतियार भने बरामद नभएको बताए । आइएमआई सेन्टरका सञ्चालक नवराज अवस्थीका अनुसार ३७ कार्की धनगढीको वडा नम्बर २, कृष्णनगरका स्थायी बासिन्दा हुन् ।
धनगढीको मुख्य सडकका १२ वटा स्थानमा अपराध निगरानी गर्न सिसिटिभी जडान भए पनि तीन वटा स्थानबाहेक अन्य क्षेत्रका सिसिटिभी प्रयोगबिहिन रहेका छन् । जसले गर्दा पनि प्रहरीले लुटेराहरूको पहिचान र कता तिर गयो भन्ने पत्ता लगाउन सकेको छैन् ।
यसैबीच, प्रदेश नम्बर ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले घटनाको लगत्तै प्रदेश प्रहरी प्रमुख डिआइजी शरद चन्दलाई घटनाको गम्भीर ढंगले अनुसन्धान गर्न निर्देशन दिएका छन् । आन्तरिक मामिला मन्त्री शाहको निजी सचिवालयका अनुसार उनले डिआइजी चन्दलाई आफ्नो कार्यकक्षमा बोलाएर घटनाको अनुसन्धान गर्न निर्देशन दिएका थिए । प्रहरी भारतसँग जोडिएका सीमा सहितका धनगढीबाट बाहिर जाने नाकामा चेकजाँच कडा बनाएको जनाएको छ ।
सम्बन्धित समाचारहरू