२१ भाद्र २०८१, शुक्रबार

एम्बुलेन्स दुर्घटनामा चार घाइते



बैतडी । बैतडीमा आइतबार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् ।
घाईते हुनेहरूमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रूपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ ।
दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–३, धरमघर नजिकै दुर्घटनामा परेको हो । एम्बुलेन्स सडकबाट करीब एक सय मिटर तल झाडीमा खसेको छ ।
घाइते सबैको प्रहरीले उद्धार गरेको थियो । घाइतेहरू चारै जनाको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए । एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार