चैनपुर बचाउ अभियान : समयमै काम नगर्ने ठेकदारमाथि कारबाही गरिँदै
बझाङ । बाढीको उच्च जोखिममा रहेको बझाङको सदरमुकाम चैनपुर बचाउ अभियान तीब्र गतिमा जारी छ । तीन तिरबाट नदीले घेरेको चैनपुरलाई बाढी तथा कटानबाट जोगाउन तटबन्ध निर्माण कार्य जोडतोडका साथ भइरहेको छ ।
जलउत्पन्न विभाग, बैतडी डिभिजन प्रमुख रामरथ खरेलले चैनपुर बचाउ अभियान अन्तर्गत निर्माणाधीन तटबन्ध कार्य समयमै पुरा नगर्ने ठेकदारलाई तत्काल कारबाही गरिने बताएका छन् । निर्माण कार्यको निरीक्षण अनुगमनका लागि चैनपुर आएका खरेलले समयमै काम पुरा गर्न सम्बन्धित निर्माण कम्पनीलाई चेतावनी दिए ।
२०७२ सालको वर्षायाममा बाउली खोलामा आएको बाढीले चैनपुर जोड्ने झोलुंगे पुल बगाएपछि केही महिना आवागमन अवरुद्ध भएको थियो । चैनपुरलाई तीन तिरबाट घेरेको बाउली खोला र सेती नदीको कटानले उच्च जोखिम बढेकोले संघर्ष समिति बनाएर अभियान शुरु गरिएको चैनपुर बचाउ अभियान संघर्ष समितिका अध्यक्ष धर्मराज रसाईलीले बताए ।
बाढी तथा कटानको उच्च जोखिममा रहेका मुलुकका पाँच सदरमुकाममध्ये बझाङको चैनपुर एक रहेको मानिन्छ । चैनपुर बचाउ अभियान शुरु भएपछि तटबन्ध निर्माणका लागि ठेक्कापट्टा भएर काम शुरु भइसकेको छ ।
जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दलबहादुर बिष्टले तटबन्ध निर्माण कार्य तोकिएको समयभित्रै पुरा हुने विश्वास व्यक्त गरे ।
चैनपुरमा निर्माणाधिन तटबन्ध कार्यअन्तर्गत सेती नदी र बाउली खोलामा क्रमवद्ध रुपमा चार वटा प्याकेज पुरा भइसकेको जनाइएको छ । आर्थिक वर्ष २०७१/०७२ सालदेखि शुरु भएको तटबन्ध निर्माण कार्यको अहिलेसम्म ७५ प्रतिशत काम पुरा भइसकेको छ ।
जलउत्पन्न विभागका लेखा उपसचिव दिलाराम गिरीले सरकारले गुरुयोजना बनाएर चैनपुर जोगाउन तटबन्ध निर्माण गरिरहेको बताए ।
चैनपुर बचाउ योजना अन्तर्गत २०७२ सालबाट शुरु भएको तटबन्ध निर्माणको लागत ७५ करोड २८ लाख १५ हजार रुपैयाँ रहेको छ । जलउत्पन्न विभाग, बैतडी डिभिजन प्रमुख खरेलले आगामी चार वर्षभित्र तटबन्ध निर्माण कार्य पुरा हुने बताए ।