अमरगढीमा खानेपानीको चरम अभाव
डडेल्धुरा । डडेल्धुरा सदरमुकाम अमरगढीमा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको चर्को अभावपछि अमरगढी नगरपालिकाले ट्यांकरबाट पानी वितरण शुरु गरेको छ । नगरपालिकाले बजार क्षेत्रमा रहेका प्रत्येक घरमा ५० लिटरका दरले खानेपानी वितरण गरिरहेको छ ।
अमरगढी नगरपालिका प्रमुख विपिन ओझाले गर्मीयामसँगै बजार क्षेत्रमा खानेपानीको अभाव बढेपछि ट्यांकरबाट खानेपानी वितरण शुरु गरेको बताए । उनले नगरपालिकाले बागबजार, तुफानडाडा, खलंगा, कीर्तिपुरमा रहेका घर तथा होटलमा ट्यांकरबाट पानी वितरण गरिरहेको बताए ।
उनले साहुखर्कमा रहेको मुलबाट पानी भरेर बजार क्षेत्रमा वितरण गरिरहेको बताए । नगरपालिकामा खानेपानीका लागि खलंगा खानेपानी आयोजना भए पनि गर्मीयाममा मुल सुक्ने भएकाले समस्या भएको नगर प्रमुख ओझाले बताए ।
उनले गर्मी मौसम सुरु भएसँगै मुहानमा पानी कम हुन थालेपछि सदरमुकाम क्षेत्र खानेपानीको चरम अभाव भएको बताए । उनले नगरपालिकामा तेस्रो साना शहरी आयोजनाअन्र्तगत ३३ करोड लगानीमा खानेपानी आयोजना बनीरहेको जानकारी दिँदै भने, “आयोजना दुई वर्षभित्र सम्पन्न हुने र नगरपालिकाका २० हजार बढी घरधुरी लाभान्वित हुन्छन् ।”
मुहानबाट पानी कम आइरहेकाले खानेपानीको समस्या सिर्जना भएको खलंगा खानेपानी उपाभोक्त समितिकाका कार्यालय सचिव यज्ञराज ओझ बताए । जिल्ला सदरमुकाम क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा यहाँका स्थानीयहरू बेलाबेला खानेपानीको समस्या झेल्दै आइरहेका छन् । ट्यांकीमा पानीको मात्रा कम भएकाले तीन दिनमा एक पटक मात्रै उपभोक्तालाई पानी दिने व्यवस्था मिलाइएको कार्यालय सचिव ओझाले बताए । तत्कालका लागि तीन दिनमा एक पटक पानी दिने व्यवस्था मिलाएको र मुहानमा पानीको मात्रा बढेपछि नियमित रूपमा दिनको एक पटक पानी उपलब्ध गराउने उनले जानकारी दिए ।
खलंगा खानेपानी उपाभोक्त समितिसँग भएको १२ फिटको ट्यांकीमा अहिले चार फिट मात्रै पानी संचित भइरहेको जनाइएको छ ।