२८ पुष २०८१, आईतवार

साँफेबगर विमानस्थलमा परीक्षण उडान सफल



अछाम। बिगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले परीक्षण गरेको हो ।
समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर बिमान स्थलमा अवतरण भएको थियो । तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो । बीचमा केही समय विमानस्थल सञ्चालनमा भएपनि पुन २०६२ साल देखि पूर्णरूपमा बन्द विमानस्थल गौचरणमा परिणत भएको थियो ।
निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पुरा भएको बताएको छ । विमानस्थलको पाँच सय मिटर लम्बाइ र ८० मिटर चौडाइ भागमा कालोपत्रे गरिएको छ । विमानस्थलको भ्याटसहित ११ करोड ५० लाखको लागतमा कालोपत्रे भएको हो ।
प्रदेश नम्बर ७ का पहाडी जिल्लाहरुका विमानस्थलमध्ये साँफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ । अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर र कमल बजारमा गरी दुई स्थानमा विमानस्थल छन् । जिल्लामा २ वटा विमानस्थल भए पनि सञ्चालनमा छैनन्।
विमानस्थल सुरु भए आवतजावतका साथै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्नेमा समस्यामा कमी आउने स्थानीयले आशा गरेका छन् ।
२०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा रहेको थियो । तर, कमलबजार विमानस्थल सञ्चालनका लागि भने कुनै पनि पहल नहुदा गौचरणमा परिणत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार