१० श्रावण २०८१, बिहीबार

दुईवटा विमानस्थल कालोपत्रे हुँदै



धनगढी । प्रदेश नम्बर ७ का दुईवटा विमानस्थल चालू आर्थिक वर्षभित्रै कालोपत्रे हुने भएको छ । प्रदेश सातका बैतडीका पाटन र डोटीको दिपायल विमानस्थल चालू आर्थिक वर्षभित्रै कालोपत्रे कार्य पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ ।
त्यस्तै, कालोपत्रे कार्य पूरा भएको अछामको साँफेबगर विमानस्थलमा आज परीक्षण उडान गर्ने तयारी भइरहेको जनाइएको छ ।
दिपायल विमानस्थलमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको निर्माण कार्यमा संलग्नसपना ग्याल्भा जेभी कन्स्ट्रक्सनले जानकारी दिएको छ ।
प्रदेश नम्बर ७ का तीन वटा (साँफेबगर, पाटन र दिपायल) विमानस्थलमा कालोपत्रे कार्यका लागि ठेक्कापट्टा भएकोमा साँफबगर विमानस्थलमा कालोपत्रे काम पूरा भएको छ । गत चैत महिनाभित्रै तीन वटै विमानस्थलमा कालोपत्रे कार्य पुरा भइसक्नु पर्नेमा काम नसकिएपछि आगाी असार मसान्तसम्म म्याद थपिएको छ ।
अछामको साँफेबगर विमानस्थलमा रन–वे, पार्किङ र आन्तरिक सडक लगायतको काम पूरा भएको छ । विमानस्थलमा केही मर्मतको काम मात्रै बाँकी रहेको अवस्थामा परीक्षण उडान हुँदैछ ।
पहाडी जिल्लामा हवाई सेवा दिइरहेका साना जहाजको उडान र अवतरण हुने भएकोले समिट एयरको १९ सिटे लेट जहाजले परीक्षण उडान गर्ने तयारी गरिएको साँफेवगर विमानस्थल निर्माण योजनाका प्रमुख योगेन्द्र शर्माले जानकारी दिए ।
त्यस्तै, डोटी विमानस्थलको कालोपत्रेका लागि सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनले छ करोड ८० लाख रुपैयाँमा ठेक्कापट्टा सम्झौता भएको थियो ।
त्यस्तै, डोटी विमानस्थल असार मसान्तसम्म कालोपत्रे निर्माणको कार्य पूरा गर्ने गरी काम भइरहेको योजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर बालकृष्ण रेग्मीले बताए ।
बैतडीको पाटन विमानस्थल पनि यसै आर्थिक वर्षको असारभित्र कालोपत्रे कार्य पूरा गर्ने गरी काम भइरहेको इञ्जिनियर रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार