१० श्रावण २०८१, बिहीबार

डडेल्धुरामा चट्याङ लागेर १३ जना घाइते, २ को अवस्था गम्भीर



डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर १३ जना घाइते भएका छन्। जिल्लाको परशुराम नगरपालिका–६ छेलाका २ वटा घरमा बिहीबार साँझ ६ बजेतिर चट्याङ पर्दा ८ जना घाइते भएका हुन्।
पानी र हावाहुरीसँगै चट्याङ पर्दा छेला गाउँकी ३३ वर्षीय रेग्मादेवि बोहरा, ४५ वर्षीय कर्णबहादुर धामी, २७ वर्षीय हरिनादेवी दमाई, १९ वर्षीय ललिता धामी, ४५ वर्षीय बेलादेवी धामी, २५ वर्षीय मायादेवी धामी, १२ वर्षीया सविना धामी र ७० वर्षीय वृद्धा धौलीदेवी धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
घाइते ६ जनाको अवस्था समान्य रहेको भए पनि बेलादेवी र मायादेवीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जानकारी दिए। गम्भीर घाइते दुई जनालाई एम्बुलेन्स मार्फत जोगबुडा अस्पतालमा ल्याइएको उनले बताए।
यस्तै परशुराम नगरपालिका–७ सादनीमा चट्टयाङ लागेर ५ जना घाइते भएका छन्। घाइते हुनेहरुमा १४ वर्षीय धनराज भट्ट, ५० वर्षीय रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीय लक्ष्मी भट्ट रहेको प्रहरी नायव उपरिक्षक जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार