९ माघ २०८१, बुधबार

‘हेलो सीएम’ मा पहिलो गुनासो– ट्राफिक व्यवस्थापन कहिले हुन्छ ?’



धनगढी । ‘मुख्यमन्त्रीज्यू नमस्कार, प्रदेशको अस्थायी राजधानी धनगढीमा ट्राफिक व्यवस्थापन नभएर साह्रै समस्या छ, कहिले समाधान गर्नुहुन्छ ?’ सोमबार साँझ ४ बजेदेखि सात नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रत्यक्ष रूपमा जनताका गुनासा सुन्न र सम्बोधन गर्न शुरु भएको ‘हेलो सीएम’ कार्यक्रममा पहिलो कल आयो । हाल धनगढीमा बस्दै आएका डोटीको शिखर नगरपालिका वडा नम्बर २ का करनजंग शाहीले धनगढीमा अस्तव्यस्त अवस्थामा रहेको ट्राफिक व्यवस्थापनबारे मुख्यमन्त्रीसँग गुनासो गरे ।
आफैंले फोन रिसिभ गरिरहेका मुख्यमन्त्री त्रिलोचन भट्टले फोनमा जवाफ दिए– “तपाईलाई धन्यवाद । म यो समस्या छिटो समाधानका लागि ट्राफिक कार्यालयलाई निर्देशन दिने छु ।”
मुख्यमन्त्री भट्टसँगै प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, कैलालीका प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीहरू तथा ठूलो संख्यामा सञ्चारकर्मीहरूको उपस्थितिमा शुरु भएको हेलो सीएम कार्यक्रममा प्राप्त पहिलो गुनासोको सम्बोधनका लागि मुख्यमन्त्रीको कार्यालयले तत्काल कैलाली जिल्ला ट्राफिक कार्यालयलाई सूचना गरेको छ । मुख्यमन्त्री कार्यालयका प्रवक्ता बिशनसिंह थापाले सञ्चारकर्मीहरूलाई जानकारी दिए– “हामीले जिल्ला ट्राफिक कार्यालयलाई यो समस्या समाधान गर्न निर्देशन गरेका छौं ।”
करनजंगले हेलो सीएम कार्यक्रममार्फत गरेको कमजोर ट्राफिक व्यवस्थापनबारेको गुनासो आम धनगढीबासीको चासोको विषय हो । तीब्र रूपमा शहरीकरण भइरहेको धनगढीमा सडकका दुवै किनारा अतिक्रमण गरेर मनलागी ढंगबाट राखिएका ठेलाटहरा, जहातही पार्किङ गरिएका सवारी साधन, ट्राफिक नियमको ठाडै उलंघन गरेर तीब्र गतिमा हुइकिने मोटरसाइकल, ठाउँठाउँमा भत्किएका तथा साँघुरा सडकका साथै प्रतिदिन थपिने सवारी साधनका कारण धनगढीमा ट्राफिक व्यवस्थापन निकै कठिन बन्दै गएको छ ।
प्रदेशका आम नागरिकका कुनै पनि गुनासा प्रत्यक्ष रूपमा सुन्न तथा तत्काल सम्बोधन गर्न सोमबारदेखि ७ नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा एक समारोहबीच ‘हेलो सीएम’ कार्यक्रम आरम्भ भएको छ ।
प्रदेशका मुख्यमन्त्री भट्टले ‘जनगुनासो तथा सुझाव दिने’ विषय लेखिएको होर्डिङ बोर्ड छोपेको पर्दा हटाएर तथा जनताका तर्फबाट आएको पहिलो गुनासो सुनेर कार्यक्रमको शुभारम्भ भएको घोषणा गरे ।
प्रदेश सरकारको तीन महिनाको पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १६६०–९१५२७२३ नम्बरको पैसा नलाग्ने टोलफ्रि नम्बर सञ्चालन ल्याएको छ ।
प्रदेशका कोही पनि नागरिकले फोन, एसएमएस तथा फ्याक्स गरेर आफनो समस्या, गुनासो तथा सुझाव प्रदेश सरकारलाई दिन सक्ने गरी व्यवस्था मिलाइएको छ । मुख्यमन्त्रीको कार्यालयले सञ्चालनमा ल्याएको सो सेवा हरेक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रदेश प्रमुख सचिव लक्ष्मीराम पौडेलले भने– “हामीले २४ सैं घण्टा यो सेवा सञ्चालन गर्ने उद्देश्य लिएका छौ, तर विविध कारणले अहिले बिहान ७ देखि सॉझ ७ बजेसम्म मात्र सञ्चालन हुने छ ।” प्रमुख सचिव पौडेलले मुख्यमन्त्रीको कार्यालयले विस्तारै जनताको गुनासोको संख्याअनुसार सेवा प्रवाहको समयावधि बढाउँदै लगेर २४ सैं घण्टा सञ्चालन गर्ने अवस्थामा पुर्‍याउने बताए ।
हेलो सीएम कार्यक्रममा दुर्घटना, विपद्सम्बन्धी घटना र उद्दार, प्रदेशस्थित सार्वजनिक निकायले वितरण गर्ने सेवासुविधामा भेद्भाव गरिएको वा वञ्चित गरिएको, सार्वजनिक निकायबाट प्रदान गरिने सेवासुविधा प्राप्त गर्न अवरोध वा बाधा पुगेको, गैर कानुनी क्रियाकलाप वा त्यस्तो कार्यबाट कुनै व्यक्तिलाई हानी नोक्सानी भएको, संविधान र प्रचलित कानुन प्रदत्त हकअधिकारको उपयोगमा बाधा, अवरोध वा विभेद गरिएमा, भ्रष्टाचारजन्य तथा महिला हिंसा वा अन्य लैगिंक हिंसा सम्बन्धी क्रियाकलाप गरेको लगायतका विषयमा जानकारी गराउन सकिने छ ।
प्रदेशका प्रमुख सचिव पौडेलले भने– “हेलो सिएममा आएको जनताका गुनासोलाई आवश्यकता अनुसार जरुरी गुनासोलाई चार घण्टाभित्र र सामान्य गुनासालाई बढीमा एक हप्ताभित्र सम्बोधन गर्ने व्यवस्था मिलाएका छौं ।”
उनले गुनासा सम्बोधनका लागि कार्यविधि बनिसकेको बताए । उनले भने– “हरेक गुनासोको ढिलोचाडो सम्बोधन हुन्छ । हामीलाई तपाईहरूको समस्या, गुनासो, सुझाव आवश्यक रहेको छ ।”
७ नम्बर प्रदेशका मुख्यमन्त्री भट्टले हेलो सीएम कार्यक्रममा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्न मातहातका मन्त्रालयहरूलाई ध्यान दिन आग्रह गरे । “अहिले दुर्गम क्षेत्रका जनताले विभिन्न समस्या भोगिरहेका छन् तर, गुनासो गर्ने ठाउँ पाएका छैनन् भने गुनासो गरेपनि सम्बोधन नहुने भनेर निराश हुन्छन्” उनले भने– “हामीले यो जनतालाई सिधै सरकारसँग जोड्ने प्रयासले कार्यक्रम ल्याएका हौं, त्यसैले यसमा आएका गुनासो प्राथमिकताका साथ सम्बोधन हुनुपर्छ ।” उनले कार्यालयले यो कार्यक्रम शुरुवात गरेको तर, सफल सबैको सहयोगबाट मात्र हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार