३० भाद्र २०८१, आईतवार

डुमलियावासी भन्छन्– स्थानीय सरकारको अनुभव गर्न पाएनौं



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १७, डुमलिया (साविक उर्मा गाविस) की चन्दादेवी बोगटीको घरमा प्राय: राति मैनवत्ती, टुक्की अथवा रिचार्जेवल लाइटको माध्यमबाट उज्यालो हुने गर्दछ । उपमहानगपालिकाका अरू वडाका बासिन्दाले चिमलाईट, वल्व, ट्युवलाईटबाट घर उज्यालो गरिरहँदा डुमलियाका बासिन्दा भने मैनवत्ती वा टुक्कीको भरमा घर उज्यालो बनाउन बाध्य छन् ।
डुमलियामा करिब तीन सय घरधुरी छन् । तर, सो वस्तीमा अहिले पनि विद्युत सेवा पुग्न सकेको छैन । विद्युत सेवा मात्रै होइन्, डुमलिया अझैं शुद्ध खानेपानी लगायत आधारभूत सेवाबाट बञ्चित रहेको अवस्था छ ।
डुमलियाका बासिन्दाले लामो समयदेखि शुद्ध खानेपानी, विद्युत लगायतका आधारभूत सेवाबाट बञ्चित हुनुपरे पनि आशा भने छोडिसकेका छैनन् । प्रत्येक निर्वाचन झैं गत वर्षको स्थानीय निर्वाचनमा विभिन्न दल तथा उम्मेदवारहरूले बाँडेको आश्वासन भूलेका छन् । ‘पछिल्लो स्थानीय तह निर्वाचनका बेला पनि विभिन्न उम्मेदवारले विद्युत, खानेपानी लगायतका सेवा पुर्‍याउने आश्वासन दिएका थिए’ चन्दादेवीले सम्झिइन्– ‘चुनाव भएको एक वर्ष बित्न लाग्यो, तर हाम्रो गाउँमा अझैं कुनै सेवा पुगेको छैन ।
प्रदेश ७ को अस्थायी राजधानी तथा एक मात्र उपमहानगरपालिकाको एउटा बस्ती अझैं अन्धकारमा रात बिताउन बाध्य भरहँदा निर्वाचित जनप्रतिनिधिहरू भने प्राय:जसो सडक, कल्र्भट लगायतका भौतिक पूर्वाधार निर्माणलाई नै प्राथमिकता दिइरहेका छन् । डुमलियाका बासिन्दा भन्छन्– ‘स्थानीय सरकार सञ्चालन भएको एक वर्ष पुग्न लागेको छ । गाउँसम्म जोड्ने सडक ग्राभेल गर्ने, कल्र्भट निर्माण जस्ता कामले प्राथमिकता पाए पनि विद्युत, खानेपानी जस्ता आधारभूत आवश्यकता पुर्‍याउनेतर्फ भने कुनै चासो दिइएको छैन ।’

नगर प्रमुखमाथि आक्रमणदेखि दुर्घटनासम्म
जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पुग्नै लाग्दा कैलालीका जनप्रतिनिधिमाथि गोली प्रहार, घरमा नक्कली बम र सवारी दुर्घटनासम्मका घटना भएका छन् ।
कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीलाई गत फागुन २८ गते राति घरमै अपरिचित व्यक्तिहरू खुकुरी र गोली प्रहार गरेका थिए । कम्मरभन्दा तल्लो भागमा गोली लागेपछि उनलाई उपचारका लागि नेपालगञ्जदेखि काठमाडौंसम्म लगिएको थियो । काठमाडौंको टिचिङ अस्पतालमा अप्रेसन गरेर गोली निकालीएपछि झण्डै एक महिनापछि नगरपालिकामा कार्यभार सम्हाल्न आएका थिए ।
नगर प्रमुख चौधरीले भने– ‘शारीरिक अवस्था अझै कमजोर छ । जसरी पहिला काम गरिरहेको थिए त्यो अनुसार अहिले काम गर्न सकिरहेको छैन ।’ उनका अनुसार आफूमाथि आक्रमण भएपछि झण्डै एक डेढ महिना नगर विकासका काममा समस्या परेको थियो ।
गत माघमा गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउँदको घर नजिकै बम विस्फोट गरिएको थियो । अज्ञात समूहले गराएको बमका कारण उनको घरको पर्खालमा क्षति भएको थियो ।
गत पुसमा चुरै गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरको गोदावरीदेखि मसुरिया जाने क्रममा गौरीगंगामा मोटरसाईकलमा दुर्घटना भएको थियो । दुर्घटना पश्चात उनलाई भारतमा लगेर उपचार गरिएको थियो । झण्डै एक महिनासम्म सो गाउँपालिकामा काम प्रभावित भएको थियो ।

उपमहानगरपालिकाभित्रको विपन्न मध्येको एक मानिएको डुमलिया गाउँका बासिन्दाको घरआगनमा अझैं विकासका प्रतिफल पुग्न सकेका छैनन् । स्थानीय पूर्णबहादुर थापा मगरले भने– ‘ठूल–ठूला विकास निर्माण त परै जाओस् सामान्य दैनिक आवश्यक पर्ने विद्युत, खानेपानीको आपूर्ति हुनसकेको छैन् । शिक्षक दरबन्दीको अभावमा विद्यालय सञ्चालन गर्न सकिएको छैन ।
अझैं विद्युत सेवा समेत उपभोग गर्न नपाएका डुमलियाबासी भन्छन्– ‘हामीले निर्वाचित स्थानीय सरकारको अनुभव गर्न पाएनौं । स्थानीय निर्वाचित सरकार नभएको बेला हामीले जेजस्ता समस्या भोगिरहेका थियौं, अहिले पनि त्यसमा कुनै परिवर्तन आएको छैन ।’
गाउँ नजिकै शिवगंगा नदी बग्ने भएका कारण वर्षायाममा स्थानीयले त्यत्तिकै डुवानको समस्या भोग्नु परिरहेको छ । हरेक वर्षायाममा नदीले खेतीयोग्य जमिन कटान गर्ने क्रम जारी छ । वर्षायामभरी डुमलियाबासीले आवागमनमा सास्ती बेहोर्नु परेको छ ।
स्थानीय सञ्चार माध्यमहरूले पटकपटक वडामा स्वास्थ्य केन्द्रको आवश्यकता बारे समाचार प्रकाशन, प्रसारण गरेपछि आर्थिक वर्ष २०७३/०७४ मा स्वास्थ्य मन्त्रालयले धनगढी उपमहानगरपालिकाका चार वडामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गर्न अनुमति तथा बजेट विनियोजन गरेको थियो । वडा नम्बर १७ मा भने स्थानीय तहको निर्वाचनपछि मात्रै स्वास्थ्य केन्द्र सञ्चालनमा आएको थियो । स्वास्थ्य सेवाबाट वञ्चित भएका त्यस क्षेत्रका स्थानीयले स्वास्थ्य केन्द्र सञ्चालन भएपछि वर्षायाममा सहजता भएको प्रतिक्रिया दिएका छन् ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले डुमलियाबासीले भोग्नु परेका समस्या कम गर्न पहल भइरहेको बताए । उनले उपमहानगरपालिकाले खुटिया नदीमा पुल निर्माणका लागि सर्भे कार्य अघि बढाएको बताए ।
नगर प्रमुख वडले डुमलियामा खानेपानीको लागि आयोजना छनोट र विद्युत सेवा विस्तारका लागि पोल ट्रान्सफर्मर जडान गर्ने कामका लागि उपमहानगरपालिकाले पहल गरिरहेको बताए ।

गाउँपालिकाका कार्यालय शहर केन्द्रीत
कैलालीको दुई वटा गाउँपालिकाका सम्पर्क कार्यालय शहर केन्द्रीत भएका छन् । मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकामा तोकिएका कार्यकारी अधिकृतहरूले धनगढी नगरपालिकामै भवन भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गरेका थिए ।
मोहन्याल र चुरेले धनगढीको तारानगरमा सम्पर्क कार्यालय स्थापना गरेका थिए । धनगढीमै कार्यकारी अधिकृतहरू बस्न लागेपछि सो गाउँपालिका स्थानीयहरूले समस्या भोग्नु परेको थियो । अहिले पनि गाउँपालिकामा कार्यकारी अधिकृत, गाउँपालिका अध्यक्षहरू कम भेटिने गरेको स्थानीयहरूले गुनासो गरेका छन् ।

सम्बन्धित समाचार

स्थानीय सरकारको एक वर्ष पुग्दै

अभाव छन् कर्मचारी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार