भारतीय सुरक्षा बलद्वारा नेपाली जमिन अतिक्रमण प्रयास



कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १०, का कृष्णदत्त पन्तले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भोगचलन गर्न रोकेको छ ।

फाइल तस्बिर

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पन्तसँग भएको जग्गाको लालपुर्जा नै गलत भएको भन्दै जग्गा भोगचलन गर्न रोकेको हो । सोमबार साँझ खेतमा माटो सम्याइरहेका बेला आएका एसएसबीले त्यो भूमी भारतको भएको दावी गर्दै उनलाई काम गर्न रोकेका हुन् ।
सीमा क्षेत्रसँग जोडिएको १३३ देखि १३४ नम्बर सीमा स्तम्भसँग जोडिएको नेपाली भू–भागमा भारतीय सीमा सुरक्षा बलले हस्तक्षेप गरेको पन्तले बताए ।
‘नहरको छेउको जमिन उचोनिचो थियो । पानीले खेतको मल बगाएर लाने भएकोले जमिनलाई सम्याइरहेका थियौँ’, पन्तले भने– ‘त्यहीबेला एसएसबी आएर भारतको भूमि दावी गर्दै काम गर्न रोक्यो ।’
पन्तसँग जग्गा धनीपुर्जा हुँदा पनि भारतीय पक्षले भोगचलन गर्न रोक लगाएको वडा नम्बर १० का अध्यक्ष हरिलाल चौधरीले पुष्टि गरे ।
१४६६ नम्बरको कित्ता पिताम्बर पन्तको नाममा रहेको छ । जसलाई एसएसबीले भारतीय भूमि भएको दावी गर्दै आएका छन् । आफूहरूले बर्सेनि जग्गाको मालपोत र पानीपोत समेत तिर्दै आएको पन्तले बताए ।
भारतीय पक्षले हस्तक्षेप गरेपछि छलफलका लागि एसएसबीको क्याम्पमा पुगेका नेपाली टोलीलाई लालपुर्जा नै गलत भएको आरोप लगाएको छ ।
पन्तका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली छलफलका लागि मंगलबार एसएसबीको क्याम्पमा पुगको थियो ।

प्रतिक्रिया दिनुहोस्