१० श्रावण २०८१, बिहीबार

कर्मचारी अभावमा कामकाज प्रभावित



बाजुरा । बाजुराका अधिकांस स्थानीय तहमा कर्मचारी अभावमा दैनिक कामकाज प्रभावित भइरहेको छ । बाजुरामा चार नगरपालिका र पाँच गाउँपालिकामा ६९ वटा वडा रहेका छन् । धेरैजसो वडामा सचिवको पदपूर्ति हुन सकेको छैन ।
अधिकांस वडामा सचिवको पदपूर्ति नभएका कारण जन्म, मृत्यू, बसाइसराई, विवाह घटना दर्ता जस्ता काम समेत प्रभावित हुने गरेको बुढीगंगा नगरपालिका वडा नम्बर ७ का स्थानीय तपेश रावलले बताए ।
बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले नगरपालिकाको वडा नम्बर ८ र ९ मा दुई जना कर्मचारी खटाइएको भए पनि बाँकी वडामा नगरपालिका कार्यालयबाट नै सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको बताए ।
त्यस्तै, बुढीगंगा नगरपालिकाका १० वडामध्ये एउटामा पनि सचिव छैनन । सो नगरपालिकाका मेयर दीपकबिक्रम शाहले हाल प्राविधिकहरूलाई कामचलाउ बनाएर सेवा प्रवाह गरिराखेको बताए ।
हाल बुढीगंगा नगरपालिका ७, ८, ९ र १० वडा कार्यालयहरू संयुक्त रूपमा साविकको बाह्रविस गाविसको भवनमा कार्यालय स्थापना गरिएको छ ।
उता खप्तड छेडेदह गाउँपालिकाका सात वडामा दुई जना कर्मचारीले सेवा दिइराखेका छन् । गाउँपालिका अध्यक्ष नरबहादुर रावलले कर्मचारी अभावले काम गर्न निकै गाह्रो भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार