सन् २०३१ सम्म विश्वकप चुम्ने लक्ष्य



सन् २०१० मा शुरु एसपीए कप नेपाली क्रिकेट इतिहासमा गर्विलो अध्याय थप्दै विकसित भएको रुस्लान धनगढी प्रिमियर लिग २, २०७४ चैत्र १७ देखि ३० गतेसम्म धनगढीमा भव्य रुपमा सम्पन्न भइसकेको छ । यस अवसरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हामीलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मन र हातलाई स–धन्यवाद हार्दिक आभार व्यक्त गर्दछौ ।
डीपीएललाई हामीले क्रिकेटको विकासमा कोशेढंगा बनाउदै खेल पर्यटनका माध्यमबाट यहाँको पहिचान, सामाजिक आर्थिक उत्थानलाई विशेष रुपमा जोडेर अघि बढाएका थियौ । यस मामलामा हामी कति सफल भयौ हामीले भनिरहनु परेन । सबैलाई थाहा छ । डीपीएल धनगढी र प्रदेश ७ को पहिचानसंगै विकास र समृद्धिको ढोका खोल्ने प्रयास हो । यस अवसरमा नेपाली क्रिकेटको महाकुम्भ रुस्लान डिपिएल २ ले पारेको प्रभाव, यसको निरन्तरता र भविष्यलाई लिएर समिक्षा गर्ने जमर्को गरेका छौ ।

पहिचान
रुस्लान डीपीएल २ ले ICC बाट मान्यता पाउनु नेपाली क्रिकेट र हामी धनगढीबासीका लागि अभुतपुर्व ऐतिहासिक घटना हो । रुस्लान डीपीएल २, नेपालमा सर्वाधिक हेरिएको खेल हो । राष्ट्रिय टेलिभिजन, एपि वान एचडीबाट प्रत्यक्ष प्रसारण, विश्वचर्चित अनलाइन स्ट्रिमिङ साइट Iflix मा प्रत्यक्ष अनलाइन स्ट्रिमिङ, espncricinfo.com मा लाइभ अपटेड, राष्ट्रिय र स्थानीय पत्रपत्रिका, रेडियो र अनलाईनमा पाएको प्राथमिकता, सामाजिक सञ्जालको चर्चा आदि कारणले यो प्रतियोगिता लाखौंलाख दर्शकले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हेरेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दैनिक औसत दुई करोडभन्दा बढी दर्शकले विभिन्न माध्यममार्फत डीपीएललाई प्रत्यक्ष हेरेको अनुमान गरिएको छ । दैनिक तीन हजारको औसतमा मैदानमा दर्शकहरूको उपस्थिति थियो । जुन नेपाली घरेलु क्रिकेटले पाएको सर्वाधिक दर्शक संख्या पनि हो र क्रिकेटको बढ्दो लोकप्रियताको संकेत हो ।
डीपीएलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाउनु सोझै धनगढीको प्रतिष्ठासंग जोडिन्छ । जति डीपीएलको चर्चा भयो, त्यति धनगढी र हामी धनगढीबासीको चर्चा भयो । यस क्षेत्रको पहिचानलाई अझै देश विदेशमा पुर्‍याउन डीपीएलले महत्वपूर्ण भुमिका खेलेकोमा हामी गौरवान्वित छौ ।

क्रिकेटका लागि एकता र सहकार्य
हामीले डीपीएलमा पूर्वदेखि पश्चिमसम्मका शहर आधारित टीम बनाएर देशमा क्रिकेटको माहोल बनाउन खोजेका हौं । क्रिकेटमा बढिभन्दा बढि क्षेत्र र जनताको सहभागिता खोजेका हौं । क्रिकेटमा देशलाई जोड्न खोजेका थियौं । डीपीएलले देशभर नै क्रिकेटको चर्चा भई रह्यो । क्रिकेटको माहोल बन्यो । क्रिकेटमा देश जुट्यो । यसरी क्रिकेट माहोल देशभर नै तातेको देख्दा हाम्रो प्रयास सफल भएको हामीलाई महसुस भएको छ ।
अवसर
रुस्लान डीपीएलको उद्देश्य यस क्षेत्रका साथै देश भरका उदयमान प्रतिभाहरूलाई अन्तर्राष्ट्रियस्तरको म्याच एक्सपोजर दिने थियो । आइसीसीको मान्यतासंगै हङकङ र यूएईका कप्तान, ओमानका राष्ट्रिय क्रिकेटर लगायत आइपिएल र रणजी ट्रफि खेलिसकेका खेलाडीहरूको सहभागिता रह्यो । उनीहरूसंग हाम्रा उदयमान प्रतिभाहरूले संगै अभ्यासका साथै प्रतियोगिता खेल्ने अवसर पाउनु अर्थपूर्ण छ ।
त्यस्तै, प्रतियोगिताहरूले नवोदित प्रतिभाहरूलाई अझै खारिँदै निखार्दै लैजाने गर्दछन् । हामीले डीपीएलका प्रत्येक टिममा एक जना स्थानीय खेलाडी अनिवार्य राख्नै पर्ने व्यवस्था गरेका थियौ । यो यस प्रदेशका नवोदित खेलाडीहरूका लागि निकै दुरगामी महत्त्वको प्रयास हो । आगामी दिनमा पनि उनीहरूलाई विशेष अवसर दिनेमा हामी कटिवद्ध छौ । यस संस्करणको अभ्यास सत्रमा स्थानीय खेलाडीहरूले फ्रेन्चाइजी टोलीहरूलाई प्रभावित पारेकाले आगामी अक्सनबाट थुप्रै स्थानीय खेलाडीहरू राम्रो भाउ पाउने हामीले विश्वास लिएका छौं ।

आर्थिक संकेत
रुस्लान डीपीएल अवधिभर यस क्षेत्रको आर्थिक गतिविधि चलायमान भइरह्यो । प्रतियोगिता अवधिभर धनगढीमा ठूलो संख्यामा आन्तरिक पर्यटकहरुको आगमन भइरह्यो । विभिन्न व्यक्तिले बसको टिकट क्यान्सिल गरेर पनि डीपीएल हेर्नका लागि रोकिएको समाचार पढ्न पायौं । डीपीएल हेर्न नेपालका विभिन्न शहर र मित्रराष्ट्र भारतबाट पनि हजारौं दर्शक धनगढी आए । फलत यस अवधीमा विभिन्न तह र तप्काका यातायात व्यवसायी, विभिन्न व्यापारी र होटेल एवं रेस्टुरेन्ट व्यवसायीहरूलाई प्रतियोगिताले व्यस्त राख्यो । कतिपय दर्शकहरु यस क्षेत्रको विभिन्न पर्यटकीय गन्तव्यहरुमा पनि पुगे । यसले आन्तरिक तथा विदेशी दर्शक धनगढीमा भित्राउन मद्दत पुग्ने र आर्थिक कारोबार बढाउन योगदान पुग्ने छ । डीपीएल र यस्तै अन्य प्रतियोगिताहरूले स्थानीय तथा राष्ट्रिय सरकारलाई यस क्षेत्रको समृद्धिको आधार समेत देखाएको हामीले विश्वास लिएका छौ ।

सम्भावना
रुस्लान डीपीएलले यस क्षेत्रको सम्भावना पनि उजागर गरिदिएको छ । ‘आट्ने हो र सबै जुट्ने हो’ भने विकटता र जटिलताका बीचमा पनि देशकै ठूलो कामहरू गर्न सकिदो रहेछ भन्ने उदाहरण हामीले दिदैं आएका छौ । आगामी दिनमा सम्बन्धित निकायले यस क्षेत्रले गर्व गर्ने गरी अझै उचाईका प्रतियोगिताहरु लिएर आउने र हाम्रो देशलाई साच्चिकै क्रिकेटको देश बनाउने गरी कार्यक्रमहरू ल्याउनु हुनेमा हामीले विश्वास लिएका छौ । क्रिकेट धनगढीको पहिचन र डिपिएल धनगढीको समृद्धिको रामवाण हो भन्ने कुरा उद्योगी व्यावसायी लगायत आमनागरिकलाई छर्लङ्ग भईसकेको छ । डिपिएल धनगढीका साथै देशकै सम्पत्ति भएकोमा स्वाभाविक रुपमा हामी सवै गौरवान्वित छौ । डिपिएललाई अझै माथि उठाउनु केन्द्र सरकार, प्रदेश नम्बर ७ को सरकार, यहाँका राजनीतिक दल, उद्योगी, व्यावसायी सञ्चार जगत सवैको प्रतिष्ठाको विषय हो । हाम्रो पहिचान र प्रतिष्ठा डिपिएलको पहिचान बचाउन हामी सबै एक हुनेमा म विश्वस्त छु ।

अपेक्षा र भविष्य
यस संस्करण झै डीपीएलले आगामी संस्करणमा पनि यहाँहरूको यस्तै न्यानो माया पाउने अपेक्षा गरेका छौ । यस संस्करणमा हामीले ई–टिकेटिङ, डिजिटल स्कोरबोड, एलइडी टिभी, रिप्ले सिस्टम (थर्ड अम्पाएर) आदिको प्रयोग गरेका थियौं । आगामी दिनमा थप प्रविधिहरूको प्रयोगमा जोड दिनुका साथै डीपीएल होम एण्ड अवे र डे–नाईट खेलिनेतर्फ हाम्रो प्रयास रहने जानकारी गराउदछौ ।
क्रिकेटका माध्यमबाट धनगढीलाई अन्तर्राष्ट्रिय स्तरको सुन्दर शहर बनाउँदै सुदूरपश्चिमको आर्थिक कायापलटको सपना हामीले देखेका छौं । यो सपना साकार धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनेसंगै हुनेछ । त्यसैले एएए मोडेलमा फाप्लाको काम अघि बढाउन हामी सरकारसंग जोडदार माग गर्दछौं । सम्पुर्ण धनगढीबासीलाई यस अभियानमा गोलवद्ध हुन हार्दिक अपिल गर्दछु ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धनगढीको भाग्यरेखा र प्रदेश नम्बर ७ को समृद्धिको आधार हो । त्यसैले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजना घोषणा गरी तीन वर्षभित्रै निर्माण सम्पन्न गर्नका लागि एक ठाउँमा उभिएर जोडदार पहल गर्न यहाँको सरकार, राजनीतिक दलहरू, नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मीको ध्यानआकृष्ट गर्न चाहन्छु ।
हामीले सन् २०३१ सम्ममा विश्वकप चुम्ने लक्ष्य बनाऔ । त्यसका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेल मैदान बनाऔं । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्ने वातावरण बनाऔं । खेलाडीलाई क्रिकेटमा मन, वचन र कर्मले समर्पित हुने वातावरण बनाऔ । हामीलाई विश्वास छ सन् २०३१ सम्म विश्वकप खेल्ने मात्र होइन चुम्न सकिन्छ । यसबाट स्वाभाविक रुपमा नेपाली युवाहरुमा क्रिकेटको क्रेज ह्वात्तै बढ्ने छ । हरेक युवाको प्रमुख उद्देश्य क्रिकेटर बन्ने हुनेछ । क्रिकेटले युवालाई बदल्ने छ र देश बद्लिने छ । यो सम्भव छ । इच्छाशक्ति चाहिन्छ असम्भव भन्ने केही छैन । तर क्रिकेटलाई उच्च प्राथमिकतामा नराखि यो महान उद्देश्य प्राप्त हुन सत्तैmन । त्यसैले म क्रिकेटलाई राष्ट्रिय गौरवको खेल घोषणा गरी खेल मैदानहरू र अन्तर्राष्ट्रिय स्तरका रंगशाला निर्माण गर्न सरकारसंग जोडदार माग राख्दछु ।
यस अवसरमा सहभागी टोलीहरू काठमाडौंं गोल्डेन्स, विराटनगर किंग्स, रुपन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढी तथा टीम सञ्चालकज्युहरु, मुख्य प्रायोजक रुस्लान, सहप्रायोजकहरु, प्रवद्र्धकहरु, स्थानीय प्रायोजकहरु, खेल मैदान उपलब्ध गराई सहयोग गर्ने संघीय प्रहरी इकाई कार्यालय, संचार जगत, नि:स्वार्थ खटिएका स्वयंसेवकहरु, अफिसियल्सहरु, शान्तिसुरक्षा सम्बन्धि निकायहरु, खेलकुद निकाय, पर्यटन बोर्ड, स्थानीय तह तथा संघसंस्थाहरुको साथ सहयोग र समर्थनका लागि स–धन्यवाद हार्दिक आभार व्यक्त गर्दछु । हाम्रो उद्देश्य पावन र महान छ । त्यसैले अझै गहकिलो, खँदिलो र बलियो सहकार्य गर्नका लागि आह्वान गर्दछौं ।

(धनगढी क्रिकेट एकेडेमीले रुस्लान डिपिएल २ को आयव्यव विवरण सार्वजनिक गर्ने क्रममा सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा आधारित)

प्रतिक्रिया दिनुहोस्