१२ माघ २०८१, शनिबार

सिलाइकटाईमार्फत आत्मनिर्भर बन्दै महिला



डडेल्धुरा । ‘महिलाले घरको चुलोचौकीमा सीमित हुनुपर्छ र आयआर्जनको काम पुरुषले मात्रै गर्न सक्छन्’ मान्यतालाई भत्काउँदै डडेल्धुराका महिला व्यवसायमा उन्मुख हुन थालेका छन् । नेपाली समाजमा विद्यमान पेसा विभाजनको परम्परा तोड्दै धेरै महिला सिलाईकटाईको काममा आवद्ध भइरहेका छन् । थोरै लगानीमा राम्रै आम्दानी हुन थालेपछि महिलाहरू सिलाईकटाई व्यवसायतर्फ उन्मुख भएका छन् ।
डडेल्धुरा, अमरगढी नगरपालिका वडा नम्बर २ मा सिलाईकटाई व्यवसाय गर्दै आएकी खेमा थापा भन्छिन्– यो व्यवसायबाट मासिक सरदर १० देखि २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । उनी पाँच वर्षदेखि सिलाईकटाई व्यवसाय सञ्चालन गरिरहेकी छन् । ‘यो पेसाबाट राम्रै आम्दानी भइरहेको छ, मासिक रुपमा बचत पनि भइरहेको छ’ उनि भन्छिन्– महिलाले घरमा चुल्होचौकी, घाँसदाउरा मात्रै गर्नुभन्दा सीप सिकेर आत्मनिर्भर बन्ने प्रयास गर्नु जरुरी छ । अमरगढी नगरपालिका वडा नम्बर ५, तुफानडाँडामा सात वर्षदेखि सिलाईकटाई व्यवसाय गर्दै आएकी गायत्रीदेवी खड्का पनि आफू यो पेसाबाट सन्तुष्ट रहेको बताउँछिन् । ‘मासिक २५ हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ’ उनी भन्छिन्– काम गर्दैै जाँदा अनुभवी पनि भएकी छु ।
डडेल्धुराकै नवदुर्गा गाउँपालिका वडा नम्बर २ मा स्थायी घर भएकी र हाल अमरगढीमा सिलाइकटाई काम गर्दै आएकी पुष्पा भट्टको सुझाव छ– ‘रोजगारीका लागि विदेशिनु भन्दा स्वदेशमै केही व्यवसाय गर्नु उचित छ । सिलाईकटाईप्रति महिलाको आकर्षणलाई दृष्टिगत गरी विभिन्न संघसंस्थाले सिलाईकटाई तालिम सञ्चालन गरिरहेका छन् । एक महिनादेखि सिलाईकटाई तालिम लिइरहेकी अमरगढी नगरपालिका वडा नम्बर २ चिम्रिकोटकी अलिशा तामाङ भन्छिन्– आर्थिक रूपमा आत्मनिर्भर बन्नका लागि सीप सिक्नु अनिवार्य छ । डडेल्धुराका शहरी क्षेत्रमा मात्र नभएर अहिले ग्रामीण भेगका महिला पनि सिलाईकटाई व्यावसायमा आकर्षित हुन थालेका छन् । सिलाईकटाई व्यावसाय सञ्चालन गरिरहेका महिलाले आर्थिक रुपमा आत्मनिर्भर मात्रै बनेका छैनन्, अन्य महिलालाई रोजगारी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार