१० श्रावण २०८१, बिहीबार

हुलाकी सडक निर्माण कार्य तीब्र बनाउन निर्देशन



कञ्चनपुर । खानेपानी मन्त्री तथा कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बीना मगरले कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडकको काम तीब्र पार्न निर्माण व्यवसायीलाई निर्देशन दिएकी छन् ।
सडक निर्माणमा ढिलासुस्ती भइरहेको गुनासो आएपछि कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेकी मन्त्री मगरले निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाका सञ्चालक भीमबहादुर साउँदलाई निर्माण कार्य तीब्र पार्न निर्देशन दिइन् ।
निर्माण कार्यमा भइरहेको ढिलासुस्तीले सर्वसाधारणलाई मर्का भइरहेको बताउँदै मन्त्री मगरले बर्खाअघि सडकमा सहज आवागमन हुने गरी काम गर्न आग्रह गरिन् ।
‘सडक निर्माणमा तोकिएको कार्यतालिकाभन्दा ढिलासुस्ती भइरहेको छ,’ मन्त्री मगरले भनिन्, ‘निर्माणको कामलाई तीब्रता दिनुपर्‍यो ।’ स्थानीय स्तरमा निर्माण कार्य गर्दा केही असहजता उत्पन्न भए समाधान गर्न आफू तयार रहेको समेत मन्त्री मगरले प्रतिवद्धता जनाइन् ।
भेटमा निर्माण कम्पनीका सञ्चालक साउँदले वर्षात्मा सडक हिलो नहुने गरी पूरै सडकमा ग्राभेल गरिसक्ने बताए । ‘स्थानीय साझेदार कम्पनीका कारण ढिलासुस्ती भएको हो, बीचमा निर्माण सामग्रीको अभाव देखिएको थियो,’ उनले भने, ‘अब निर्माण कार्यमा ढिलाई हुँदैन ।’
सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै सर्वसाधारणले आपत्ति जनाउने गरेका छन् । कञ्चनपुरको डोकेबजार, पुनर्वास, बेलौरी, बेल्डाँडी हुँदै दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको काम तीन खण्डमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार