९ माघ २०८१, बुधबार

प्रदेशको समृद्धिका लागि एकजुट बनौं– सभापति देउवा



धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ७ नम्बर प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्न आह्वान गरेका छन् ।
कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको ११ औं वार्षिकोत्सव समारोहमा सभापति देउवाले प्रदेशको विकासका एजेण्डामा सबै राजनीतिक दलहरू एक ठाउँमा आउन आग्रह गरे । उनले भने– ‘सबै दलले सम्भावनाहरूको पहिचान गरेर तथा एकजुट भएर अगाडि बढे भने सात नम्बर प्रदेश साच्चै नै मुलुककै सबैभन्दा समृद्ध प्रदेश बन्ने छ ।’
उनले कर्णाली, सेती र महाकाली नदीको उचित दोहन गरेर जलविद्युत तथा सिंचाईं सुविधा विस्तार गर्नुपर्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले सात नम्बर प्रदेशको सामाजिक सद्भाव र सहिष्णुता अक्षुण्ण राख्न सबै अग्रसर हुन आग्रह गरे ।
सो अवसरमा सभापति देउवाले दुर्गालक्ष्मी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गरे ।
विश्वविद्यालय अनुदान आयोग, साविक जिल्ला विकास समिति कैलाली, साविक गेटा तथा मालाखेती गाविस र तत्कालीन निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको बजेट समेत दुई करोड ५० लाख रुपैयाँको लागत सो भवन निर्माण भएको जनाइएको छ ।
कार्यक्रममा भवन निर्माण समितिका संयोजक कृष्ण खड्काले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । सो तीन तल्ले भवनमा २६ कोठा रहेका छन् ।
स्नातकोत्तर तहसम्म अध्ययन हुने दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा एक हजार दुई सय विद्यार्थी अध्ययन गरिरहेको क्याम्पसले जनाएको छ । २०६३ सालमा स्थापना भएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हाल एक सय ५० गरिब तथा जेहेन्दार छात्रछात्राले छात्रवृत्ति पाएका छन् ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र भट्टले सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बन्न लागेको यो क्याम्पसमा पछिल्लो समय फरेस्ट्री विषयको पढाईका लागि पहल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार