अधिकांस स्वास्थ्य चौकीमा औषधि अभाव
बझाङ । औषधी अभावमा बझाङका अधिकांस स्वास्थ्य चौकीमा समस्या सिर्जना भएको छ । बझाङका दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका स्वास्थ्य चौकीमा औषधि अभावका कारण सेवाग्राहीले कठिनाई बेहोर्नु परेको छ ।
‘ज्वरो आउन थालेको तीन दिन भयो, शुरुमा सामान्य रुघाखोकी होला भनेर उपचार गरिएन, पछि ज्वरो बढ्दै गएपछि स्वास्थ्य चौकीमा आए’ दहबगरका उकेश बोहराले भने– ‘चौकीका डाक्टर (अहेब) ले एक चक्की सिटामोल छैन, किनेर लिनु भनेर स्लिप लेखी दिए ।’
उनले ‘सरकारले ४० प्रकारका औषधि नि:शुल्क दिने भने पनि व्यवहारमा एक चक्की सिटामोलको सात रुपैयाँसम्म तिर्नुपरेको’ बताए ।
दुर्गाथली गाउँपालिका वडा नम्बर १ का करन विकले ‘प्राय: औषधि महँगो मूल्यमा स्वास्थ्य चौकी इञ्चार्ज र सहायकको निजी मेडिकलबाट किन्नु परेको’ बताए ।
उनले भने, ‘दुई दिनअघि सैनपसेला स्वास्थ्य चौकीमा भाउजुको उपचार गराउन गए, पखाला लागेकाले अन्य औषधिसँगै एक पाकेटको ४० रुपैयाँमा खरिद गर्नुपर्यो ।
नगरपालिकाले औषधिको खरिदका लागि बजेट पठाएको भन्ने जानकारी आएको भए पनि वडा कार्यालयले औषधि खरिद गरेको छैन । स्वास्थ्य चौकीमा औषधि मौज्दात नभएकाले बिरामीलाई औषधिको सिलिप लेखेर दिने गरेको दहबगड स्वास्थ्य चौकीका अहेव वीरबहादुर धामीले बताए ।
उनले भने, ‘मौसम परिर्वतन भएसँगै अहिले झाडापखाला, ज्वरो, विषमज्वरोका बिरामी बढी आउने गरेका छन्, गाउँ दुर्गम छ ठाउँ दुर्गम छ राज्यको आँखा पुगेको छैन, अहिले स्वास्थ्य चौकी औषधिविहीन भएको छ, बिरामीले औषधि खोज्ने गर्छन, हामीले दिन सकेका छैन, कतिले त गाली गर्ने झगडा गरेर जाने गरेका छन् ।’
राज्यले जिल्ला अस्पताललाई ७० प्रकारका औषधि र स्वास्थ्य चौकीलाई ४० प्रकारको औषधि दिने गरेको छ । आव ०७४/०७५ पहिलो चौमासिकमा औषधि खरिद गरेर ल्याई वितरण गरेको हो । अहिले गाउँपालिका र नगरपालिकाले आफैले औषधि खरिद गर्ने राज्यले नियम बनाएपछि जिल्लास्थित एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, ४५ स्वास्थ्य चौकी सबै औषधिविहीन भएको जिल्ला अस्पतालका प्रमुख डा अनुप रेग्मीले बताए ।
उनले भने, ‘औषधिको मूल्य लेखेको हुन्छ, त्योभन्दा बढीमा बिक्री गर्न पाइदैन, औषधि अभाव जिल्ला अस्पतालमा समेत छ ।’