७१ वर्षको उमेरमा सपना वादीले नगरिकता पाइन
बाजुरा । जीवनको उत्तरार्धमा पुगेपछि बल्ल सपना वादीले नागरिकताको प्रमाणपत्र पाएकी छन् । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ७ की सपना वादीले ७१ वर्षको उमेरमा शुक्रबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिन् ।
बुढीगंगा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भवनसिंह केसीको सिफारिसमा उनले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरिन् ।
उनका श्रीमानको तीन वर्षअघि मृत्यु भएको थियो । नाचगान गरेर तथा माटाको भाँडा बनाएर जीविकोपार्जन गर्ने सपनाको जेठो छोरा सागर कक्षा ५ र कान्छो छोरा राजेश कक्षा २ मा अध्यनरत रहेका छन् ।
श्रीमानको मृत्युपछि दिनभरी मागेर जीविकोपार्जन गर्ने सपनाले तत्कालीन गाउँ विकास समिति तथा नगरपालिका तथा नेताहरूसँग पटकपटक नागरिकताको प्रमाणपत्र बनाइदिन आग्रह गरे पनि कसैले नसुनेको बताइन् ।
केही साताअघि नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले सपनालाई नागरिकता प्रमाणपत्र बनाउन सहयोगको पहल गरेका थिए । अध्यक्ष सिंहको पहलमा वडाका जनप्रतिनिधि तथा नगरपालिकाको सिफारिसमा उनले नागरिकताको प्रमाणपत्र प्राप्त गरेको बताइन् ।