प्रदेश ७ मा सडक दुर्घटनामा बृद्धि



धनगढी । प्रदेश नम्बर ७ मा भएका सवारी दुर्घटनाबाट औसत दुई दिनमा एकजनाको मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरीको तथ्यांकमा प्रत्येक दुई दिनमा एउटा सवारी दुर्घटना हुने गरेको उल्लेख छ । ट्राफिक प्रहरीको एक अध्ययन प्रतिवेदनले सडक दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर ड्राइभिङ गर्नु, सडकमा छाडा चौपाया, जथाभावी सडक पार गर्नु र ओभर लोडलगायत छन् ।
७ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार यो वर्षको साउनदेखि चैतसम्म एक सय नौ सवारी दुर्घटना भएका छन् । यो अवधिको दुई सय ६२ दिनमा एक सय १० जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते ९२ र सामान्य घाइते एक सय ४९ जना छन् । सबैभन्दा बढी दुर्घटना हुने सवारीसाधनमा मोटरसाइकल छन् । मान्छेको मृत्युको संख्या भने बढी बस दुर्घटनाबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा घाइतेको संख्या बढी देखिन्छ ।
बस, ट्रक लगायतका ठूला सवारीसाधनको दुर्घटनाको संख्या तराईको भन्दा पहाडतिर बढी भएको छ । पछिल्ला वर्षमा दुर्घटनाको सख्यामा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष ०७१/०७२ मा कुल एक सय ५० दुर्घटना भएकोमा एक सय ४७ जनाको मृत्यु भएको छ ।
०७२/०७३ मा १ सय ५ दुर्घटनामा एक सय २१ जनाको मृत्यु भयो । त्यस्तै ०७३/०७४ मा एक सय ८४ दुर्घटना भएकोमा एक सय ३२ जनाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक जयसिंह बिष्टले बताए ।
हरेक वर्ष दुर्घटना संख्या र मृत्युको बढदै गएको अवस्थामा आर्थिक वर्ष ०७४/०७५ मा समेत वृद्धि हुने देखिन्छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिष्टले सडकको अवस्था र चालकको लापरबाही नै बर्सेनि दुर्घटना बढनुको मुख्य कारण भएको बताए । यस प्रदेशको पहाडी क्षेत्रको सडक साँघुरो र सवारी चाप बढी छ प्रहरी निरिक्षक बिष्टले भने सवारी दुर्घटनाका अध्ययन र अनुसन्धानबाट चालकको लापरबाहीबाट घटना वृद्धि भएको देखिन्छ ।
उनका अनुसार ६० प्रतिशतभन्दा बढी दुर्घटना चालककै लापरबाहीबाट भएको देखिएको छ । मोटरसाइकल दुर्घटना वृद्धि हुनुको कारण तीव्र गतिमा मदिरा सेवन गरेर हाँक्नु नै रहेको उनले बताए । उनका अनुसार ७ नम्बर प्रदेशका पहाडी राजमार्गमा दैनिक तीन देखि चार सय यात्रुवाहक गाडी चल्ने गरेका छन् ।
कैलाली कञ्चनपुर राजमार्गमा दैनिक ७/८ सय यात्रु र मालवाहक सवारीसाधन गुड्ने गरेका छन् । दुर्घटना न्यूनीकरणमा जनचेतनाको समेत उत्तिकै आवश्यक भएको प्रहरी निरिक्षक बिष्टले बताए । ट्राफिक प्रहरीले यातायात व्यवसायी, चालक, कन्डक्टर, खलासी, यात्रु र स्कुले विद्यार्थीका लागि विभिन्न समयमा यससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।
दुर्घटना न्यूनीकरणका लागि हाइवेमा ट्राफिक चेकजाँच, टाइम कार्ड र रिफ्रेस सेन्टर राखिएको बिष्टले बताए । सडकमा छाडा चौपायाले पनि दुर्घटना बढेकाले छाडा चौपाया व्यवस्थापनमा नगरपालिकालगायतका निकायबाट समेत काम हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्