५ चैत्र २०८१, बुधबार

अखिलका दुई जना प्रहरी नियन्त्रणमा



कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुरमा आवद्ध दुई जना विद्यार्थीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्रान्तिकारीका विद्यार्थीहरूले जिल्ला शिक्षा अधिकारीको कुर्सीमा तस्बिर राखी आगजनी गरेपछि दुई जनालाई नियन्त्रणमा लिएको हो ।
आगजनी गर्ने क्रममा प्रहरीले क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य भीम भट्ट र वर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त भट्टलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक उमाकान्त जोशीले बताए । क्रान्तिकारीका कञ्चनपुर अध्यक्ष वीरेन्द्रराज बिष्टले प्रहरीले पक्राउ गरेका केन्द्रीय सदस्यद्वयलाई नि:शर्त छाड्नुपर्ने बताए ।
प्रहरीले नछाडे पूर्व घोषित कार्यक्रमसँगै प्रहरी प्रशासन विरुद्ध कडा आन्दोलन गर्ने उनले बताए । चरणवद्ध आन्दोलन अन्तर्गत सोमबार दिउँसै क्रान्तिकारीका नेताहरूले जिल्ला शिक्षा कार्यालय पुगेर जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टलाई दिउँसै टर्च बालेर खोजेका थिए ।
वैशाख १२ गते विद्यालयबाटै कापी कलम बेच्ने निजी विद्यालयमा तालाबन्दी गर्ने, १३ गते शैक्षिक आम हड्ताल गर्ने, १४ गते जिल्ला शिक्षा र प्रशासनमा कालो झण्डासहित प्रर्दशन गर्ने र १५ गतेदेखि स्थानीय सरकार घेराउ गर्ने क्रान्तिकारीले कार्यक्रम घोषणा गरेको छ ।
पहिलो चरणका आन्दोलनका कार्यक्रमसम्म माग पूरा नगरेर पुन: दोस्रो चरणमा सशक्त आन्दोलन थाल्ने क्रान्तिकारी नेताहरूको भनाई रहेको छ । शिक्षा कार्यालय लगायत सरोकारवाला निकायले अवैधानिक निजी विद्यालय बन्द गर्न आलटाल गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार