मोहनापुल– अत्तरिया छ लेन सडक : डोजर लगाएर घरसंरचना भत्काउन शुरु
धनगढी । धनगढीको ट्राफिक चौराहमा सोमबार बिहान एकाएक बडेमानको डोजर आइपुग्यो । उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, मोहनापुल–अत्तरिया छ लेन सडक आयोजना प्रमुख मनिश शाह, सुरक्षाकर्मीहरूसहित त्यहाँ आइपुगे । र, शुरु भयो– सडक सीमाभित्र परेका घरभवन संरचना भत्काउने कार्य । निकै ठूलो संख्यामा जम्मा भएका स्थानीयको समर्थन सहित सोमबार सडक सीमाभित्र परेका करिब चार दर्जन घर संरचना भत्काइए ।
२०७४ फागुन ८ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै ‘मोहनापुल–अत्तरिया छ लेन सडक आयोजनाको निर्माण कार्य रोक्ने सम्बन्धी रिट खारेज गर्यो ।’ अदालतको अन्तरिम आदेश आएको ३१ दिन भइसकेको छ, तर अझैं निर्माण कार्यले गति लिन सकेको छैन ।
निर्माण कार्यले गति लिन नसकेपछि आक्रोसित स्थानीयले उपमहानगरपालिका र आयोजना कार्यालयले अदालतको आदेशको अवहेलना गरेको आरोप लगाए । स्थानीयले एक साताभित्र निर्माण कार्य अघि नबढाइए अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका थिए ।
निर्माण कार्य अलपत्र झैं बनेका कारण ठाउँठाउँमा भत्काइएका सडक, धुवाँ धुलोका कारण यातायात सञ्चालनका साथै पैदल यात्रु र सडक वरपरका बासिन्दाले सास्ती भोग्नु परिराखेको छ ।
मोहनपुल–अत्तरिया छ लेन सडक आयोजना प्रमुख मनिश साहले भने– अदालतको आदेशले निर्माण कार्य अघि बढाउने बाटो खुले पनि दुई महिना पुग्दा समेत सडकको सीमाभित्र परेको घरभवन भत्काइएनन्, त्यसले निर्माण कार्यमा असर पुग्यो । आयोजना प्रमुख शाहका अनुसार सडक सीमाभित्र रहेका घरभवनमध्ये करिब दश प्रतिशतले संरचना हटाउन अटेर गरिरहेका छन् । उनले भने– केही मानिसले घर भत्काउन मानेका छैनन्, केहीले भत्काएको बहाना मात्र गरिरहेका छन् ।
सडक सीमाभित्र परेका घर संरचना भत्काउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि सोमबार (२०७५ बैशाख १० गते) डोजर लगाएर सडकभित्रको संरचना भत्काउन शुरु गरेको छ ।
धनगढी उपमहानगरपालिका प्रमुख वड र आयोजना कार्यालय प्रमुख शाह सुरक्षाकर्मीसहित घर संरचना भत्काउने कार्यमा जुटे । सबैभन्दा पहिले चौराहमा रहेको संगम होटलको संरचना भत्काइयो । त्यसपछि क्रमश: अन्य सडकभित्र रहेका संरचनाहरू भत्काउन शुरु गरियो । प्रमुख शाहले भने– अहिले सडक संरचनाभित्र कति घर पर्छन्, त्यसको यकिन तथ्यांक छैन, हामी भत्काउँदै अघि बढेका छौं । सोमबार ४३ घरमा डोजर लगाइएको छ । आयोजना कार्यालयका अनुमान करिब ९० प्रतिशत घरधनीले आफैले आफ्ना संरचना भत्काइसकेका छन् ।
सडक सीमाभित्रका धनगढी उपमहानगरपालिका प्रमुख वडले भने– सडक सीमाभित्र परेको संरचना भत्काउने अभियान जारी रहने छ र संरचना नभत्काएका कारण अवरोध भएको सडक निर्माण कार्यले तीब्रता पाउने छ ।
धनगढीको मोहनापुलदेखि अत्तरिया चौराहसम्म निर्माण हुने १४ दशमलव १९७ किलोमिटर सडकको लागत अनुमान पुलबाहेक दुई अर्ब १५ करोड रुपैयाँ रहेको छ । आयोजना कार्यालयका अनुसार कुल बजेटको १० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना कार्यालयका अनुसार धनगढीको मोहनापुलदेखि अत्तरियासम्मका अधिकाँस स्थानमा माटो ढलान सम्पन्न गरी नाली निर्माण गर्ने कार्य भइरहेको छ ।