स्व:स्फूर्त ढंगले रगत दिँदै
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर १ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति आफै आएर रगत दिन थालेका छन् ।
रगत अभावका कारण सुत्केरी मरुको ज्यान खतरामा भएको समाचार प्रकाशन भएपछि हालसम्म ‘बी’ पोजेटिभ रगत समुहका तीन जनाले रगत दिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका ल्याव कर्मचारी जगतबहादुर शाहीले जानकारी दिए ।
नेपाली सेना, समरजित गुल्मका जवान सञ्जय तामाङ, गौमुल गाउँपालिका–६ की कल्पना रोकाया र बडीमालिका नगरपालिका–८ का गोरखबहादुर विष्टले रगत दिएको जनाइएको छ ।
यसैबीच जिल्ला अस्पताल बाजुरामा उपचार गराइरहेकी मरुको स्वास्थ्य अवस्थाबारे बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले आइतबार जानकारी लिएका छन् ।
मरुको उपचारमा संलग्न डाक्टर दुर्गा महर्जनले उनको शरीरबाट अत्यधिक रगत बगेकाले रक्तअल्पता भएको बताइन् ।