१६ कार्तिक २०८१, शुक्रबार

रुस्लान डिपिएल–२ : धनगढीले उचाल्यो उपाधी



धनगढी । सुनील धमलाको आकर्षक अर्धशतक तथा रोहन मुस्तफाको अलराउण्ड प्रदर्शनसँगै धनगढी टिम चौराहा रुस्लान धनगढी प्रिमियर लीग (डिपिएल)–२ को विजेता बनेको छ । धनगढीले गत वर्षको डिपिएल पनि जितेको थियो ।
धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा धनगढी टिम चौराहाले बलियो प्रतिद्वन्द्वी काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै उपाधी उचाल्यो । काठमाडौंले डिपिएलको दोस्रो संस्करणमा लीग चरणका सबै खेल जीतेको थियो ।
जीतसँगै धनगढीले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता काठमाडौंले १० लाख रुपैयाँमा चित्त बुझायो ।
घरेलु दर्शकको अपार भिड, चर्को हुटिङ र समर्थनबीच टस जितेर ब्याटिङ गरेको धनगढी टिम चौराहाले निर्धारित २० ओभरमा चार विकेट क्षतिमा एक सय ८२ रनको बिशाल स्कोर खडा गर्‍यो ।
प्रतिउत्तरमा काठमाडौं गोल्डेन्स २० ओभरमा आठ विकेट गुमाएर एक सय ६० रनमा सीमित भयो ।
धनगढी टिम चौराहा शुरुमा केही लडखडायो । टिमको स्कोर १२ रन भएको बेला असफाक अहमद पहिलो विकेटका रूपमा आउट भए ।
तर, सुनील धमला र रोहन मुस्तफाले दोस्रो विकेटका लागि एक सय ५४ रनको साझेदारी गरेपछि धनगढीले प्रतियोगिताकै उच्च स्कोर बनायो ।
सुनीलले आकर्षक ७८ रनको अर्धसतकीय पारी खेले । ६३ बलको सामना गरेका सुनीलले तीन विशाल छक्का र आठ चौका प्रहार गरे । खेलका म्यान अफ द म्याच समेत बनेका रोहन मुस्तफाले ६० रन बनाए । उनले ४२ बलको सामना गर्दै चार छक्का र चार चौका प्रहार गरे । उनी रनआउट भएका थिए । सोमपाल कामी आठ रनमा अविजित रहे ।
काठमाडौंका एस भाटीले दुई र सन्नी पटेलले एक विकेट लिए ।
प्रतिओभर नौ दशमलव एक रनको विजय लक्ष्य पाएको काठमाडौं धनगढीका बलरहरूको सटिक बलिङमा कुनै पनि बेला सम्हालिन पाएनन् । काठमाडौंको पारीमा दोस्रो विकेटका लागि ५४ रनको साझेदारी भएको थियो ।
काठमाडौंका अमित श्रेष्ठले बिस्फोटक पारी खेले पनि जीतका लागि पर्याप्त भएन । उनले ३९ बलमा तीन छक्का र सात चौका हिर्काउदै ५८ रन बनाए । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २७ बलमा एक चौका र दुई छक्का सहित ३० रन बनाए । सन्नी पटेलले २२, नरेश बुढाऐरले १९ र पुष्प थापाले १५ रन बनाए ।
धनगढीका ललितसिंह भण्डारीले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए । त्यस्तै, मुस्तफाले दुई र समशाद शेख तथा वाई एस कार्कीले एक/एक रन बनाए ।
डिपिएल–२ का धनगढीका ललितसिंह भण्डारी मोष्ट भ्यालुयवल प्लेयर बन्दै सुनको जुत्ता पुरस्कार प्राप्त गरे । धनगढीकै रोहन मुस्तफा म्यान अफ द सिरिज बन्दै मोटरसाइकल प्राप्त गरे ।
धनगढी क्रिकेट एकेडेमीद्वारा आयोजित डिपिएल–२ मा छ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार