२१ भाद्र २०८१, शुक्रबार

बुढीगंगा नगरपालिकामा बिजुली बल्यो



धनगढी । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका तीन वडामा विद्युत सेवा विस्तार भएको छ । बुढीगंगामा रहेको इकडीगाड खोलाबाट एक सय किलोवाट बिजुली उत्पादन भएपछि नगरपालिकाका वडा नम्बर ८, ९ र १० मा विद्युत सेवा पुगेको हो ।
इकडीगाड खोलाबाट उत्पादन भएको विद्युत नगरपालिकाका ८, ९ र १० वडाका एक दर्जन बढी गाउँका एक हजार एक सय १७ घरधुरीमा विस्तार हुने जनाइएको छ ।
इकडीगाड लघु जलविद्युत आयोजनाका अध्यक्ष रामबहादुर बानियाँका अनुसार आयोजना निर्माणका लागि वैकल्पिक उर्जा प्रवद्र्धन बोर्डले दुई करोड ५५ लाख रुपैयाँ, तत्कालीन सांसद कर्णबहादुर थापाको निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमबाट ५७ लाख रुपैयाँ, साविक बाह्रबीस गाउँ विकास समितिबाट ३२ लाख रुपैयाँ र साविक जिल्ला विकास समिति बाजुराबाट चार लाख रुपैयाँ समेत तीन करोड ४७ लाख रुपैयाँ प्राप्त भएको छ ।
आयोजनाका अध्यक्ष बानियाँले आयोजना निर्माणमा साढे पाँच करोड रुपैयाँ आवश्यक रहेको बताए । ‘तर, अहिलेसम्म आवश्यक रकम जुटेको छैन, धेरै काम उधारोबाट गरेका छौ’ उनले भने– ‘आयोजना निर्माणमा प्रत्येक घरधुरीबाट २५ दिन जनश्रमदान भएको छ ।
सो आयोजनाको निर्माण कार्य २०७१ सालदेखि शुरु भएको थियो । आयोजना अध्यक्ष बानियाँले उपभोक्तालाई नेपाल विद्युत प्राधिकरणको भन्दा सस्तो दररेटमा विजुली उपलब्ध गराइने बताए ।
बानियाँले अब सोही खोलाका अन्य ठाउँबाट पनि बिजुली उत्पादन गर्ने बताए । इकडीगाड लघु जलविद्युत आयोजना सफल भएपछि निकै हौसिएका उनले भने– ‘अब सोही खोलाका अन्य ठाउँबाट गरी चार सय किलोवाट बिजुली उत्पादन गर्ने सोच बनाएको छु ।’ उनले बुढीगंगा नगरपालिकाका सबै १० वडामा विद्युत सेवा पुर्‍याउने बताए ।
इकडीगाड खोलामा विद्युत उत्पादन भएपछि स्थानीयमा आफ्नो घरमा विद्युत लाइन जोड्ने होडबाजी झैं चलेको छ । विद्युत सेवा पुगेपछि स्थानीयमा खुसी छाएको छ । ‘बल्ल गाउँमा विद्युत पुगेको हेर्न पाइयो’ बुढीगंगा नगरपालिका वडा नम्बर ९ का विश्वध्वज शाहले भने– ‘अहिले बल्ल हामीले नगरबासी भएको ठानेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार