६ माघ २०८१, आईतवार

गाउँमै सुविधा पुर्‍याउन काम गर्छु : मन्त्री मगर



कञ्चनपुर । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको दुर्गम लालझाडी गाउँपालिकामा पुगेर खानेपानी मन्त्री बिना मगरले गाउँमै सुविधा पुग्ने गरी काम गर्ने बताएकी छन् ।
गाउँपालिकाले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले लालझाडीका समस्याबारे आफू जानकार रहेको बताइन् । ‘बाटोघाटो, नदी कटान, हात्ती आतंक लगायतका समस्या यो गाउँपालिकामा छन्,’ उनले भनिन्, ‘समस्या समाधान हुने गरी पहल गर्छु ।’ ठूला समस्या समाधानका लागि गुरुयोजना नै बनाएर काम गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्री बनेपछि पहिलो पटक गाउँपालिकामा पुग्नुभएकी मन्त्री मगरलाई गाउँपालिका अध्यक्ष मदनसेन बडायक लगायतका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेरसिंह बुढाले मन्त्री मगरसामु मागपत्र प्रस्तुत गरेका थिए ।
आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन भइरहेको स्तन तथा पाठेघरको मुखको क्यान्सर जाच शिविर र मतदाता भेटघाटका क्रममा मन्त्री मगर लालझाडी पुगेकी हुन् । मन्त्री मगरको पहलमा क्रान्तिकारी महिला सञ्जालले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिरहेको छ । लालझाडी गाउँपालिकामा शिविर सम्पन्न भएपछि समस्या देखिएका महिलालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल र क्यान्सर अस्पतालमा रेफर गरिएको शिविर संयोजक सरु अधिकारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार