आरक्ष शिविरमा गहुँ चुट्न नदिने समस्या तुरुन्त हल हुन्छ : मन्त्री मगर
बेलौरी । खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको ढक्कास्थित आरक्ष विस्थापित शिविरमा देखिएको गहुँ चुट्ने समस्या तुरुन्त हल हुने बताएकी छन् ।
तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका परिवारको बसोबास रहेको ढक्का शिविरमा पुगेर मन्त्री मगरले आफूले वन मन्त्री शक्ति बस्नेतसँग कुराकानी गरिसकेको र समस्या तुरुन्त हल हुने बताइन् । मैले मन्त्री ज्युसँग कुरा गरिसकेको छु, उहाँहरूलाई गहुँ चुट्न दिन्छौ भन्नुभएको छ, मन्त्री मगरले भन्,ि आन्तरिक पत्राचारमा समय लागेको हुन सक्छ ।
शुक्लाफाटा निकुञ्जमा रुपान्तरण भएपछि निकुञ्ज क्षेत्रभित्र मेसिनले गहुँ चुट्न नपाइने भन्दै प्रशासनले अवरोध गरिरहेको छ । तत्कालीन आरक्षबाट विस्थापित भएका परिवार स्थायी व्यवस्थापन नभएसम्मका लागि निकुञ्जकै ढक्का शिविरमा बसिरहेका छन् । आरक्ष विस्थापित समस्या समाधानका लागि सरकारले २९ वटा आयोग गठन गरेपनि समस्या समाधान हुन सकेको छैन ।
आरक्ष शिविरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भन्,ि म यहाँको समस्याबारे जानकार छु, गहुँ चुट्ने समस्या समाधान गरेर मात्रै हुँदैन । यसको दीर्घकालीन समाधान खोज्नुपर्छ । एउटा टिम बनाएर आफुसँगै काठमाडौं गई समस्याको दीर्घकालीन समाधानको पहल गर्न तत्पर रहेको मन्त्री मगरले बताइन् । आरक्ष विस्थापित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले समस्याको स्थायी समाधानका लागि पहल गर्न आग्रह गरे ।