तीन वर्षसम्म पनि सार्वजनिक सुनुवाई भएन
भजनी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ४ विजुलीयामा रहेको लौकाहाभौकाहा समुदायिक वन दर्ता भएको तीन वर्ष वितिसक्दा पनि अझै सार्वजनिक सुनुवाई भएको छैन ।
सो सामुदायिक बनको अध्यक्ष बचावन महतो रहेका छन् । सामुदायिक बनका उपभोक्ताहरूले पटकपटक बनको आयव्यय विवरण माग गरे पनि कुनै सुनुवाई नभएको बताएका छन् । सामुदायिक बनका उपभोक्ता तथा भलमन्सा उजाली चौधरीले बारम्बार सार्वजनिक सुनुवाई गर्न आग्रह गरे पनि बनका पदाधिकारीहरूले अटेर गर्दै आएको बताइन् ।
यसैबीच भजनी नगरपालिकाले लौकाहाभौकाहा ताल स्थानीय उपभोक्तालाई थाहै नदिएर ठेक्कमा दिएको बताइएको छ ।
भलमन्सा उजालीका अनुसार नगरपालिकाले सम्बन्धित उपभोक्तालाई जानकारी नै नदिएर मिलेमतोमा कोहलपुरका प्रदिपकुमार शाहलाई ठेक्का दिएको छ ।
उनका अनुसार नगरपालिकाले आठ लाख रुपैयाँमा कोहलपुर नगरपालिका वडा नम्बर ४ किरणनालाका प्रदिपकुमारलाई ठेक्कामा दिएको छ ।
आठ सय ६५ हेक्टर क्षेत्रफलमा फैलिएको लौकाहभौकाह ताललाई निकै वर्षदेखि स्थानीयले नै संरक्षण गर्दै आएको बताइएको छ ।
स्थानीयले सो तालमा माछापालनसंगै सिंचाईंको लागि समेत उपयोग गर्दै आएकोमा नगरपालिकाले खासेको आरोप लगाएका छन् ।