८ जेष्ठ २०८१, मंगलवार

पर्यटन प्रवद्र्धनका लागि हवाई सेवा विस्तार आवश्यक



धनगढी । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रदेश–प्रदेशबीच हवाई यातायात सेवा विस्तार गर्न आवश्यक रहेको पर्यटन व्यावसायीहरूले बताएका छन् ।
पश्चिमाञ्चल होटल व्यावसायी संघ, पोखराले शनिबार धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी व्यवसायीहरूले प्रदेश नम्बर ७ र ४ मा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि दुई प्रदेशबीच सिधा हवाई यातायात सेवा सञ्चालन हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागी होटल व्यावसायीहरूले प्रदेश नम्बर ७ बाट भारतका विभिन्न शहर भौगोलिक रुपमा नजिक पर्ने भएकाले यहाँबाट सिधा हवाई सम्पर्क गर्न सकिएमा भारतीय पर्यटकलाई सहज रुपमा भित्राउन सकिने बताए ।
१५ औं फेवा नववर्ष महोत्सव–२०७५ बारे जानकारी दिने उद्देश्यले पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको छलफल कार्यक्रमा सहभागी होटल व्यावसायीहरूले नेपालमा वार्षिक रूपमा भित्रिने कुल पर्यटकमध्ये ५० प्रतिशत बढी पोखरा घुम्न आउने भएकाले दुई प्रदेशबीच सिधा हवाई सम्पर्क स्थापित भएमा त्यहाँ आएका पर्यटकलाई प्रदेश नम्बर ७ मा पनि ल्याउन सहज हुने बताए ।
होटल व्यावसायीहरूले पर्यटन प्रर्वद्धनका लागि ठाउँ मात्र सुन्दर भएर नपुग्ने बताए । पोखराका होटल व्यावासायीहरूले पर्यटनको विकासका लागि स्तरीय होटल, पर्यटकीय स्थलसम्म सहज पैदल मार्ग, पर्यटकलाई गरिने स्वागत सत्कार आदि कुरामा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए ।
छलफल कार्यक्रममा नेपाल होटल व्यावसायी संघका केन्द्रिय सदस्य विप्लव पौड्यालले सन् २०१७ मा नेपालमा पर्यटक आगमनमा सबैभन्दा उत्साहजनक रहेको बताए । उनले यसले समग्र पर्यटन क्षेत्र तथा व्यावसायीमा आत्मविश्वास बढेको चर्चा गरे । केन्द्रीय सदस्य पौड्यालले आधारभूत पूर्वाधारको कमी नै पर्यटन विकासको लागि सबैभन्दा ठूलो अवरोध भएको बताए । उनले भने– पर्यटनका लागि आवश्यक पूर्वाधारको विकास गर्न सकेमा पर्यटक आमगनमा निकै बृद्धि हुने बताए ।
उनले प्रदेश नम्बर ७ बाट भारतको रुद्रपुर, वरेली, दिल्ली, लखनउ, मथुरा लगायतका शहर नजिक रहेकाले प्रदेश नम्बर ७ र ४ का पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा दुवै प्रदेशका व्यावसायीहरूबाट संयुक्त प्रयास हुनुपर्ने बताए ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले १६ वर्षदेखि शुरु भएको जाउँ है पोखरा, फेवा महोत्सव ले विभिन्न चुनौति पार गरेको चर्चा गरे । अध्यक्ष तुलाचनले आगामी २८ गतेदेखि बैशाख २ गतेसम्म सञ्चालन हुने यस वर्षको फेवा महोत्सवमा आन्तरिक तथा बाह्य गरी ४० हजार बढी पर्यटकको आवागमन हुने विश्वास व्यक्त गरे ।
उनले स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन भएर केन्द्र तथा प्रदेशमा स्थीर सरकार गठन भइसकेकोले पर्यटन क्षेत्रमा आशा बढेको बताए ।
सो अवसरमा कैलाली होटल व्यावसायी संघका अध्यक्ष कलमबहादुर बम लगायतका व्यावसायीहरूले पञ्चिमाञ्चल होटल व्यावसायी संघका पदाधिकारी तथा व्यावसायीहरूको स्वागत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार