८ जेष्ठ २०८१, मंगलवार

नवजीवनको २५ औं साधारण सभाः सामाजिक कार्यमा लगानी बढाउ– प्रदेश प्रमुख मल्ल



धनगढी । नेपालकै अग्रणी सहकारी संस्थाका रूपमा स्थापित नवजीवन सहकारी संस्थाको २५ औं साधारण सभा शनिबारदेखि धनगढीमा शुरु भएको छ ।
साधारण सभाको एक समारोहबीच प्रदेश नम्बर ७ का प्रमुख मोहनराज मल्लले उद्घाटन गरे ।
सो अवसरमा प्रदेश प्रमुख मल्लले सहकारी संस्थाहरूले बाणिज्य बैंकहरू झैं मुनाफामुखी मात्रै नभएर सामाजिक सेवा कार्यमा लगानी बृद्धि गर्नुपर्ने बताए ।
सामाजिक कार्यमा लगानी गरे सामाजिक रुपान्तरण प्रक्रियामा टेवा पुग्छ साधारण सभा उद्घटन समारोहमा प्रदेश प्रमुख मल्लले अहिलेको अवस्थामा बैंक तथा सहकारी संस्थाहरूले सिमित क्षेत्रमा मात्रै लगानी गरिरहेकोले लगानीका क्षेत्र फराकिलो बनाउन आग्रह गरे ।
उनले सहकारी संस्था तथा बैंकहरूले साना व्यावसायमा लगानी बढाउनु पर्ने बताए । उनले भने– साना व्यावसायमा लागनी बढाइएमा प्रदेशको समुन्नतीमा योगदान पुग्ने छ ।
साधारण सभा उद्घाटन समारोहमा कञ्चनपुरका प्रदेश सांसद तारा लामा तामाङले साना व्यवसायीहरू सहकारी संस्थाप्रति आकर्षित भइरहेको चर्चा गरे । उनले भने– बाणिज्य बैंक तथा अरु वित्तीय संस्थाहरू नपुगेका क्षेत्रमा सहकारी संस्था पुगेका छन् । यसले आम मानिसमा बचत गर्ने बानीको विकास गरिरहेको छ ।
उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष रतनबहादुर कठायतको अध्यक्षतामा भएको थियो ।
२५ वर्षअघि स्थापना भएको नवजीवन सहकारी संस्थामा आर्थिक वर्ष ०७३/०७४ सम्म १५ करोड ३४ लाख ७३ हजार रुपैयाँ शेयर पुँजी पुगेको अध्यक्ष कठायतले जानकारी दिए ।
त्यस्तै, संस्थाको कोष हिसाब १९ करोड ९४ लाख ६५ हजार रुपैयाँ पुगेको छ । भने आर्थिक वर्ष २०७३/०७४ सम्म नवजीवनको निक्षेप दायित्व दुई अर्ब ४२ करोड ३६ लाख र ५१ हजार रुपैयाँ पुगेको छ । भने सो अवधिसम्म ऋण लगानी दुई अर्ब १८ करोड ४६ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
साधारण सभाले सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।

५१ प्रतिशत मत खस्यो
मुलुककै जेठो सहकारी संस्था नवजीवन सहरकारी संस्था लिमिटेडको आगामी चार वर्षका लागि गठन हुने संचालक समिति निर्वाचनमा ५१ प्रतिशत मत खसेको छ ।
नवजीवन सहकारी संस्थामा हालसम्म १७ हजार दुई सय ३४ शेयर सदस्य (मतदाता) रहेका छन् । निर्वाचन अधिकृत राजेन्द्रबीर चन्दका अनुसार शनिबार भएको निर्वाचनमा आठ हजार आठ सय १२ मत खसेको छ ।
बिहान ८ बजेदेखी सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । मतगणना राती नौ बजेबाट शुरु भएको छ । निर्वाचन अधिकृत चन्दले आज (आईतबार) बेलुकासम्म मतगणनाको अन्तिम परिणाम सार्वजनिक गरिने बताए ।
धनगढीको ओम प्यालेसमा भएको मतदान कार्यक्रम शान्तिपुर्वक भएको छ । नयाँ सञ्चालक समितिका लागि संस्थाका वर्तमान अध्यक्ष रतनबहादुर कठायत तथा चक्रबहादुर सिंह नेतृत्वको छुट्टाछुट्टा प्यानल चुनावमा उत्रिएको थियो ।
अध्यक्ष कठायत नेतृत्वको प्यानलको उपाध्यक्षमा देवबहादुर मल्ल तथा सञ्चालक सदस्यहरूमा केशवराज मिश्र, जनकराज जोशी, जयराज जोशी, नारायण लम्साल, पदमराज भट्ट र महेश बिष्ट उम्मेदवार रहेका छन् ।
त्यस्तै, सो प्यानलबाट मित्रलाल पोखरेल, यादवप्रसाद जोशी, राजसमझ चौधरी, शिवकुमार जोशी फुलारा, हरि रेग्मी, चेतराज जोशी, गिरिराज कडायत, लक्ष्मीराज पन्त र गौरी कुमारी लामा सञ्चालक सदस्यका उम्मेदवार रहेका छन् ।
त्यस्तै, सिंह नेतृत्वको प्यानलबाट डाक्टर गोविन्दराज जोशी उपाध्यक्षका उम्मेदवार रहेका छन् ।
सो प्यानलबाट सञ्चालक समिति सदस्यमा इन्दिरा जैशी, कृष्णबहादुर चौधरी, खेमराज पाण्डेय, गोपाल पाठक, घनबहादुर शाह, चेतराज ओझा, जनकराज पाण्डेय, देवबहादुर बम, देवराज पाण्डेय, विश्वनाथ ओझा, त्रैलोक्यनाथ (टिएन) जोशी लगायत उम्मेदवार रहेका छन् ।
त्यस्तै, लेखा समिति संयोजकमा जयराज जोशी र सदस्यमा ईश्वरबहादुर सिंह तथा गोपीलाल चौधरी उम्मेदवार रहेका छन् । भने जिल्ला प्रतिनिधी पदमा चेतमान साउँद उम्मेदवार रहेका छन् ।
संस्थाको कार्यसमितिको अवधी तीन वर्षको रहँदै आएकोमा यस वर्षदेखि विधान परिमार्जित गरि चार वर्षे कायम गरिएको छ ।
निर्वाचनका लागि १६ वटा बुथ केन्द्र निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार