५ जेष्ठ २०८१, शनिबार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु



धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुरमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते छन् ।
प्रहरीका अनुसार दुर्घटनामा बर्दिया गेरुवा गाउँपालिका वडा नम्बर २ का शिवराज बोगटी र टीकापुर नगरपालिका वडा नम्बर १, व्लक नम्बर १८ का नेत्र रावलको मृत्यु भएको छ । दुर्घटनामा बोगटीको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते रावलको उपचारको लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
दुर्घटनामा घाईते भएका जोशीपुर गाउँपालिका वडा नम्बर ६ सिम्रीका आशाराम चौधरी र कञ्चनपुर बेलौरीका दिपक चौधरीको लम्कीस्थित एक स्वास्थ्य संस्थामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक नैनसिंह साउँदले बताए ।
पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको से ५ प ४८०३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्बतर्फ आउँदै गरेको से २ प ७९८१ नम्बरका मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
शुक्रबार बिहान साढे ११ बजेको समयमा जिल्लाको भागेश्वर गाउँपालिका–४ शेराघाट भन्ने ठाउँमा से १ त ९५३२ नम्बरको बालुवा बोकेको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी बझाङको थलरा गाउँपालिका–८ का २३ वर्षीय प्रकाश जोशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन् । दुर्घटनमा ट्याक्टर चालक कञ्चनपुरको लालभाडी ३ का शिवराज राना चौधरी गम्भीर घाइते भएका छन् ।
उनको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ । बालुवा बोकेको ट्याक्टर सडकभन्दा करिब २ सय मिटर तल खसेको उनले बताएका छन् । ट्याक्टर अनियन्त्रिय भएर पल्टिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार