८ जेष्ठ २०८१, मंगलवार

सुकुम्बासीलाई हटाउन दबाव दिएको छैन– माओवादी नेता भट्ट



गोदावरी । नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले कैलालीको हरैयामा निजि जग्गा कब्जा गरेर बसेका सुकुम्वासीहरूलाई ठाउँ खाली गर्न आफुले दवाव नदिएको बताएका छन् ।
माओवादी केन्द्रका उच्च स्तरका नेताहरूको मध्यस्थतामा कब्जा गरिएको जग्गा बिक्री भएपछि माओवादीका नेता भट्टले सुकुम्वासीहरूको बस्ती उठाउन दवाव दिएको आरोप लाग्दै आएको थियो ।
शुक्रबार अत्तरियामा पत्रकार सम्मेलन गरि नेता भट्टले आफुमाथि लागेको आरोप झुटो भएको दावी गरे ।
उनले आफु सुकुम्वासीलाई कुनै जग्गामा बसाउने वा उठाउने कुनै काममा पनि संलग्न नभएको बताए । उनले विस्तृत शान्ति सम्झौता पछि आफ्नो पार्टीले कुनै पनि व्यक्तिको जग्गा तथा निजी सम्पती कव्जा गर्ने काम नगरेको बताए ।
कैलालीको गोदावरी नगरपालिका अन्तर्गत हरैयामा पूर्व पश्चिम राजमार्गसंगै रहेको रणबहादुर शाहको ३५ बिघा जग्गा २०६३ सालमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा कब्जा गरेर सुकुम्वासीहरूको बस्ती बसाइएको थियो । नेता लेखराज भट्टले सो जग्गा खाली गर्न दवाव दिएको सुकुम्बासी शिविरका अध्यक्ष सञ्जु चौधरीले आरोप लगाए ।
सो जग्गा केहि समयअघि पोखराका केही व्यापारीले खरिद गरेको बताइएको छ ।
गत महिना सो जग्गा पोखराको सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालिका तीन जना सदस्यका नाममा मालपोत कार्यालय कैलालीबाट नामसारी भएको थियो ।
६० करोड रुपैयामा सो जग्गाको किनबेच भएको बताइएको छ । मालपोत कार्यालयमा भने ३९ करोड आठ लाख ८४ लाख रुपैयामा कारोबार भएको लिखतमा जग्गा पास भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार