५ जेष्ठ २०८१, शनिबार

जनप्रतिनिधिलाई प्रशिक्षण



धनगढी । कैलाली जिल्लाका सहकारी संस्था र संस्थाका अभिलेख हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत बिहीबारदेखि १३ वटै स्थानीय तहका जनप्रतिनिधीलाई प्रशिक्षण कार्य सुरु भएको छ ।
सहकारी हस्तान्तरण गोष्ठीको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बिनिता चौधरीले एक समारोहबीच उद्घाटन गरिन् ।
सो अवसरमा मन्त्री चौधरीले प्रदेश सरकार विकास र समृद्धिका लागि स्थानीय सरकारसंग हातेमालो गरेर अघि बढ्ने बताइन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सहकारी संस्था स्थानीय तहमा गएपछि अझ ससक्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हरिहर अधिकारीले सहकारी संस्थाहरूले कानुनको दायरामा रहेर काम गर्न आग्रह गरे ।
यसैबीच आज (शुक्रबार) कैलालीका सहकारी संस्थाहरू स्थानीय तहलाई हस्तान्तरण गरिने जनाइएको छ ।
एउटा स्थानीय तहमा एक भन्दा बढी रहेका सहकारी संस्थालाई प्रदेश कार्यालयमा हस्तान्तरण गरिने तथा एउटा मात्र स्थानीय तहलाई आधार बनाएर काम गर्ने सहकारी संस्थालाई सम्बन्धित स्थानीय तहमा हस्तानान्तरण गरिने जनाइएको छ ।
कैलालीमा दुई भन्दा बढी स्थानीय तहलाई समेटेर काम गर्ने ६० वटा सहकारी संस्था रहेका छन । पाँच सय ६२ सहकारी संस्था एउटा स्थानीय तहमा कार्यरत रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय धनगढीले जनाएको छ ।
कैलालीका १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै सहकारी संस्था धनगढी उपमहानगरपालिकामा हस्तान्तरण हुनेछन् । त्यस्तै, सबैभन्दा कम मोहन्याल गाउ“पालिकामा हस्तान्तरण हुने छन् ।
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकामा ८६ सहकारी संस्था र मोहन्याल गाउ“पालिकामा चार सहकारी संस्था हस्तान्तरण हुने छन् ।
टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकामा क्रमशः ७६ र ७१ सहकारी संस्था हस्तान्तरण हुनेछन् ।
त्यस्तै, गौरीगंगा नगरपालिकामा ५६, गोदावरी नगरपालिकामा ३५ र जानकी गाउँपालिकामा ५७ वटा सहकारी संस्था हस्तान्तरण हुनेछन् ।
त्यस्तै, घोडाघोडी नगरपालिकामा ४२, भजनी नगरपालिकामा ३४ तथा बर्दगोरिया गाउँपालिकामा ३७ वटा सहकारी संस्था हस्तान्तरण हुनेछन् । कैलारी गाउँपालिकामा २९, जोशीपुर गाउँपालिकामा २३ र चुरे गाउँपालिकामा १२ सहकारी संस्था हस्तान्तरण हुने डिभिजन कार्यालयले जनाएको छ ।
समस्याग्रस्त सहकारी संघ व्यवस्थापन समिति सदस्य रेवतीरमण पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख हरिसिंह साउँदले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सञ्चालन सहकारी प्रशिक्षक सुरेस प्रसाद जैशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार