५ जेष्ठ २०८१, शनिबार

पानीका लागि रातभरी कुँवा कुर्दै



बझाङ । बझाङको मष्टा गाउँपालिका, कोटदेवल रनाडागाउँका स्थानीय बासिन्दाहरू खानेपानीका लागि रातभरी कुँवामा कुर्ने गरेका छन् । स्थानीय धारामा पानी आउन छोडेपछि कुँवाको पानी खानुपर्ने स्थानीयको बाध्यता छ । कुँवामा पानी निकै कम आउने भएकाले राति दुईतीन बजेसम्म पानीको कुँवा कुरेर बस्नु परेको छ ।
यो समस्या यहाँका स्थानीयहरुको वर्षौ देखिको हो । झन्डै एक सयभन्दा बढी परिवार रहेको कोटदेवलका स्थानीयले कुँवाको पानी प्रयोग गर्दै आइरहेका छन् । खानेपानीको समस्या समाधानका लागि तत्कालीन कोटदेवल गाविसबाट र जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुबाट झन्डै २ करोड भन्दा बढी बजेट सकिएको भए पनि यो लगानी बालुवामा पानी जस्तै भएको स्थानीय कौसिल्लादेवी सिंहले बताइन् ।
उनले खानेपानीका योजनाहरु तत्कालीन गाविस र वडामा पटक–पटक आए पनि दिगो नहुने बताइन् । नुहाउनको लागि गाई, भैसीलाई पानी खुवाउनको लागि १ घन्टा भन्दा टाढा रहेको पातल गाडमा जानुपर्ने सरस्वती माविका शिक्षक आनन्द कुमार सिंहले बताए । उनले विशेष गरेर वृद्धवद्धाको लागि र एकल महिलाहरुको लागि पानीको निकै समस्या भएको बताए ।
कुँवाको पानी आधा घण्टा कुरेको खण्डमा ५ लिटर पानी स्थानीयहरुले भर्ने गरेका छन् । २०७२ सालमा जिल्ला खानेपानी कार्यालयबाट २६ लाख बराबरको खानेपानीको आयोजना परेको स्थानीयले बताएका छन् । त्यो आयोजनाबाट खानेपानीका धारा निर्माण भए पनि धाराबाट भने पानी नझरेको उनीहरुको भनाई छ । रनाडाका लागि मात्रै खानेपानी मर्मतका लागि बर्सेनि डिभीजन कार्यलयले–२ लाख जति रकम छुट्याइएको जिल्ला खानेपानी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार