५ जेष्ठ २०८१, शनिबार

तिरखडेनीका वासिन्दा दूषित पानी पिउन बाध्य



बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १० तिरखडेनीका स्थानीयले वर्षौंदेखि महाकाली नदीको दूषित पानी पिउन बाध्य रहेका छन् ।
गाउँमा खानेपानीको सुविधा नहुँदा महाकाली नदीको दूषित पानी प्रयोग गर्न बाध्य भएको तिरखडेनीका धाना बुडालले बताइन् ।
उनले भनिन्– ‘वर्षातको समयमा महाकालीमा भेल आएको बेलासमेत सोही पानी प्रयोग गर्न बाध्य भएका छौँ ।’
तिरखडेनीका करीव ५० घरपरिवारले खानेपानीको चरम समस्या भोगिरहेका छन् । आफूहरूलाई खानेपानीको निकै सकस भएको स्थानीयवासी जयन्ती बुडालले बताइन् । उनले भनिन, ‘महाकाली किनारका बासिन्दालाई खानेपानीकै समस्याले पिरोलेको हुन्छ ।’ महाकालीमा भेल आउँदा खानेपानी भर्न लगेका भाँडाकुँडासमेत नदीले बगाएको स्थानीय बासिन्दाले बताएका छन् । आफूहरू वर्षौंदेखि दूषित पानी प्रयोग गर्दै आइरहेको र अहिलेसम्म कसैले समस्या समाधान नगरेको स्थानीयवासी नारु बोहराले बताइन् ।
निर्वाचनका बेला सबै राजनीतिक दलले गाउँमा खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि कसैले पनि आफना प्रतिबद्धता पूरा नगरेको स्थानीयवासीको गुनासो छ । महाकाली किनारका तिरखडेनी र सिम्तडीका बासिन्दाले खानेपानीको निकै समस्या भोग्नुपरेको स्थानीय हरिना पन्तले बताइन् । आफूहरूले सरोकारवालासँग पटक पटक आग्रह गरे पनि केही पहल नभएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाका बासिन्दा भएर पनि आफूहरूलाई नगरवासीको अनुभूति हुन नसकेको महाकाली तटीय क्षेत्रका बासिन्दाले बताएका छन् । दूषित पानी पिउँदा विभिन्न रोगको संक्रमणसमेत देखिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार